बिल्बाओलाई उपाधि, मेसीलाई रातो कार्ड



मेड्रिड, (एजेन्सी)

बलियो स्पेनिस प्रतिद्वन्दी बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै एथ्लेटिक बिल्बाओले सिजन २०२०–२१ को ‘स्पेनिस सुपर कप फुटबल’को उपाधि जितेको छ । प्रतियोगिताअन्तर्गत आइतबार राति भएको फाइनल खेलमा बिल्बाओले अतिरिक्त समयमा बार्सिलोनामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो ।

बार्सिलोना उपाधिको मुखमा पुगेर पनि अन्तिम समय सम्हालिन नसक्दा पराजित हुनुप-यो । खेलको ८९औं मिनेटमा २–१ ले अघि रहेको बार्सिलोना अन्ततः जितबाट वञ्चित हुनुप-यो । खेलको ९०औं मिनेटमा बिल्बाओले बराबरी गोल फर्काएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थपिएको थियो ।

जसमा बिल्बाओले तेस्रो गोल गर्दै उपाधि आफ्नो पोल्टामा पा-यो । उक्त खेलमा बार्सिलोनाले भने उपाधि मात्र गुमाएन, बार्सिलोनाका कप्तान लिओनल मेसी पनि रातो कार्डका शिकार बने । खेलमा थप गरिएको समयमा विपक्षी खेलाडीलाई कुटेपछि रेफ्रीले उनलाई भिएआरमार्फत् सोझै रातो कार्ड देखाएका थिए ।

मेसीका लागि यो क्लब फुटबलको १७ वर्षे करिअरमै पहिलो रातो कार्ड थियो । बार्सिलोनाका लागि फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजम्यानले खेलको ४०औं मिनेटमा पहिलो गोल गरेका थिए । तर, त्यसको दुई मिनेटमै बिल्बाओका लागि ओस्कार डे मार्कोसले बराबरी गोल गरेर खेललाई १–१ स्थितिमा ल्याएका थिए ।

त्यसपछि ७७औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई जिततर्फ अघि बढाएका थिए । तर, खेलमा बाँकि रहेको केही मिनेट सम्हालिन नसक्दा बार्सिलोनाले सिजनको पहिलो उपाधि र कुल १४औं पटक सुपर कपको उपाधि जित्नबाट चुके ।

खेलको ९०औं मिनेटमा बिल्बाओका लागि एसिएर भिल्लालिब्रेले फ्रि किकबाट आएको बलर्मा गोल गरेपछि खेल नाटकीय रूपमा २–२ को बराबरीमा पुगेको थियो । त्यसपछि ४ मिनेटको इन्जुरी समयमा दुवै तर्फबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरियो । थप समय शुरू भएको तेस्रो मिनेटमै बिल्बाओका लागि इनाकी विलियम्सले विजयी गोल गरे । उनले डीबक्स लाइनबाट दोस्रो बार च्याप्दै हानेको बलले जाली चुमेको थियो ।

उनको शक्तिशाली प्रहारलाई बार्सिलोनाका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् । विलियम्सको गोलपछि बिल्बाओले खेलमा ३–२ को अग्रता बनायो । त्यसपछि बिल्बाओले खेलको रणनीति नै बदलेर दोहोरो डिफेन्स लाइन बनाउँदै बार्सिलोनालाई बाँकि समयभरि लगातार छेकेरै खेल जित्यो ।

प्रतिक्रिया दिनुहोस्