बागमतीको लगातार दोस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं ।

जारी चौथो पीएम कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘बी’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनको विशाल अन्तरले हराएको हो । अघिल्लो दिन ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको बागमती टिमले नेपाल पुलिसलाई स्तब्ध तुल्याएको थियो । योस“गै बागमती समूहमा ४ अंकसहित शीर्ष स्थानमा डटिरहेको छ ।

बागमतीले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९९ रनको ठूलो योगफल बनाएको थियो । बागमतीका लागि पृथु बाँस्कोटाले उत्कृष्ट पारी खेले । पृथुले १० चौका र २ छक्काको मद्दतमा टिमका लागि उच्चतम ८४ रन जोडेका थिए । उनीपछि ओपनर आदिल खानले ६३ रन बनाए, जसमा उनले १० चौका प्रहार गरेका थिए ।

अन्यमा राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्रले ३२ रन जोड्दा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले २० रन मात्रै बनाएका थिए ।
यसैगरी, बागमतीका तल्लो क्रमका ब्याटसम्यान विपिन आचार्यले ३२ रनको योगदान दिए । सुदूरपश्चिमका बलरमा नारायण जोशीले सर्वाधिक ३ विकेट लिए । तर, उनले १० ओभरको बलिङमा ६८ रन खर्चेका थिए ।

यस्तै, भोजराज जोशीले २ विकेट लिए पनि ६३ रन दिएका थिए । सन्तोष भट्टले २ विकेटका लागि ५९ रन खर्च गरे । जवाफमा सुदूरपश्चिमको टिम २१ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रनमा समेटिएको थियो । मध्यक्रमका ब्याटसम्यान अर्जुन साउदले ३१ रन जोडेर टिमको लाज बचाएका थिए । जबकि, शीर्ष ४ ब्याटसम्यान शून्यमै आउट भएका थिए ।

सुदूरका यी शीर्ष चार ब्याट्सम्यान गजेन्द्र बोहरा, खडक बोहरा, अरुण ऐरी र सञ्जु दमालले कुनै रन जोड्न सकेनन् । कप्तान सन्तोष भट्ट पनि व्यक्तिगत २ रनमा आउट भएपछि सुदूर ४ रनका लागि ५ विकेट क्षतिको दयनीय स्थितिमा थियो ।
अर्जुन र किरण ठगुन्नाले गतिलो ब्याटिङ गरेर टिमको स्कोर ६३ सम्म पु-याएका थिए ।

अर्जुन आउट भएपछि किरण पनि २४ रन जोडेर आउट भए । तर, तल्लो क्रमका ब्याटसम्यान नारायण जोशीले शानदार ब्याटिङ गर्द टिमको स्कोर १ सय पार गराए । उनले टिमका लागि ४४ रनको सर्वाधिक योगदान दिए । नटआउट रहेका उनले २९ बलको सामना गर्दै ५ छक्का र १ चौका प्रहार गर्न सफल भए ।

बागमतीका बलरमा रामनरेश गिरी सर्वाधिक सफल साबित भए । उनले शुरूकै चार विकेट लिएर विपक्षीको ब्याटिङको आधार नै धराशायी बनाएका थिए । उनले मात्र ५ ओभर बलिङ गर्दै ३२ रन दिएर ४ विकेट हात पारेका थिए । उनी ‘प्लेयर अफ द म्याच’ घोषितसमेत भए । अन्यमा नन्दन यादवले २ तथा दीपेश श्रेष्ठ, तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिएका थिए ।

(तस्वीर : उज्ज्वल डंगोल)

प्रतिक्रिया दिनुहोस्