संगीतकार परियार रहेनन्



संगीतकार, संगीत संयोजक तथा भ्वाइलिनवादक गणेश परियारको निधन भएको छ। उनको आइतबार दिउँसो निधन भएको हो। परियारले रेडियो नेपालको स्थायी कर्मचारीका रूपमा ३५/४० वर्ष सेवा गरेका थिए। त्यस क्रममा रेडियो नेपालमा रेकर्ड भएका हजारौं लोकगीतका लागि उनले संगीत संयोजन गरेका थिए भने दर्जनौं आधुनिक गीतका लागि संगीत भरेका थिए। त्यसै गरी सयौं गीतका लागि भ्वाइलिनवादन गरेका थिए।

उनले तत्कालीन शाही नेपाली सेनाको हवल्दार भएपछि संगीतकर्मकै लागि जागिर छोडेका थिए। उनी सेक्सोफोन र गिटार बजाउनसमेत उत्तिकै सिपालु थिए। २०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर शुरु गरेका परियारले २०१९ सालदेखि नै रेडियो नेपालमा करार सेवाअन्तर्गत वाद्यवादकको काम थालेका थिए।

संगीत भर्ने र संगीत संयोजन गर्नेबाहेक उनले लय तथा शब्द संकलन पनि गर्दै आएका थिए। उनी २०५० सालमा म्युजिक नेपालमा संगीत निर्देशक/संयोजकका रूपमा आबद्ध भएका थिए। अरुणा लामा, देव बज्राचार्य, ज्ञानु राणा, शिवनारायण जोशी, प्रेम खत्री, वीरेन्द्र पाठकलगायतका संगीतकर्मीसँग उनी नजिक थिए।

परियारले नातिकाजी, शिव शंकर, बच्चु कैलाश, गोपाल योञ्जन, धर्मराज थापा, शम्भुजित बास्कोटा, टीका भण्डारीलगायत नेपालका अधिकांश संगीतकारको गीतमा संगीत संयोजकको अभिभारा सम्हाले थिए। हाल संगीत संयोजन गर्दै आएका संगीतकार मनोहर सुनाम उनका जेठो छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्