सामसुङका उत्तराधिकारीलाई कारावास सजाय



सोल, (एजेन्सी)

दक्षिण कोरियाको विद्युतीय उपकरण निर्माणसम्बन्धी विशाल कम्पनी सामसुङका उत्तराधिकारी ली जाय योङलाई उच्च अदालतले दुई वर्ष ६ महिना लामो कारावासको सजाय सुनाएको छ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गेयुन ह्येविरुद्ध लगाइएको भ्रष्टाचार मुद्दामा ली पनि मुछिएका हुन् ।

पार्कले लामो समयदेखि घुस स्विकारेको र भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय भुक्तान गर्दै आइरहेकी छन् । लीविरुद्ध सोही भ्रष्टाचारको सिलसिलामा पुनः मुद्दा चलाइएको हो । लीले सन् २०१४ देखि सामसुङ इलेक्ट्रोनिक्सको वास्तविक अध्यक्षको भूमिका निभाउँदै आएका थिए । अदालतको यस निर्णयको कारण भविष्यमा सामसुंङ कम्पनीमा उनको भूमिका प्रभावित हुन सक्ने बताइएको छ ।

उनलाई सजाय सुनाइएको खबर बाहिरिना साथ अन्तर्राष्ट्रिय सेयर बजारमा सामसुङ इलेक्ट्रोनिक्सको सेयरको मूल्यमा चार प्रतिशतभन्दा बढी गिरावट आएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएको छ । कारावास सजायका कारण कम्तिमा केही समय भए पनि लीलाई सामसुङको कारोबार सम्बन्धमा निर्णय दिने भूमिकाबाट वञ्चित गरिने बताइएको छ ।

विशेषज्ञहरूका अनुसार यसबाट भविष्यमा अत्यन्तै ठूलो परमाणमा लगानी गर्ने निर्णय गर्न कम्पनीलाई कठिन हुनेछ । सन् २०१४ मा आफ्नो पिता ली कुन ही हृदयाघातका कारण अस्पतालमा भर्ना भएदेखि उनले कम्पनीको नेतृत्व सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्