प्रिन्स र जेशिकालाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं ।

सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङले ‘योनेक्स सनराइज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याकिङ प्रतियोगिता’को उपाधि उचालेका छन् ।

प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपएिफका दीपेश धामीमाथि २१–१८, २१–१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नया“ इतिहाससमेत रचे । उनले सेमिफाइनलमा शीर्ष वरीयताका रत्नजित तामाङलाई पराजित गरेका थिए । गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङले उपाधि उचालिन् । उनले १८–२१, २१–१५, २२–२० सेटले जितेर उपाधिमाथि कब्जा गरेकी हुन् । जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधि हो । यसअघि, इटहरीमा भएको सातांै पुष्पलाल स्मृतिमा पनि जेशिकाले उपाधि जितेकी थिइन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शीर्ष १६ वरीयता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे । उनले सेनाका दिवश शंकरलाई १५–२१, २१–१८, २१–१६ ले पराजित गर्दै उपाधि जिते । यस्तै, शीर्ष १२ वरीयता बाहेकको महिला एकलमा कैलालीकी प्रार्थना देउवाले बाजी मारिन् । देउवाले झापाकी अञ्जना राईलाई २१–९, २१–१३ ले पराजित गरिन् ।

पुरुष युगलतर्फको प्रतिस्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्जजित तामाङ र नवीन श्रेष्ठको जोडीले उपाधि उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथि २१–१९, १९–२१, २१–१३ को जित निकाल्दै उपाधि उचालेको हो । महिला युगलतर्फ पनि सेनाले उपाधि उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१२ ले पराजित गरेको हो ।

ब्वाइज एकलतर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१–१५, १९–२१, २१–१० ले पराजित गरे । यस्तै गल्र्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेमाथि २१–१० को समान अन्तरले पराजित गर्दै उपाधि रक्षा गरिन् ।

भेट्रान्स युगलतर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बा“केका अनिलकुमार लाखेले विजय पाए । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भण्डारी र नवीन पराजुलीको जोडीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन् । लाखेले करिब १२ वर्षपछि कोर्टमा उत्रँदै उपाधि उचालेका हुन् ।

र्‍याकिङ बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ वर्षमाथिको भेट्रान्स युगलका विजयी खेलाडीहरूले नगद २० हजार, उपविजेताले नगद १० हजार र शीर्ष चारमा पुग्नेले नगद ५/५ हजार नगदसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यसैगरी, छात्र तथा छात्रा यु–१७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरूले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्