सुर्यास्तसँगै सञ्चारविहीन रुपालवासी



राम धामी, डडेल्धुरा ।

डडेल्धुरा जिल्लाको विकट मानिने भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नियमित नहुँदा स्थानीयलाई सास्ती भएको छ । भागेश्वर गाउँपालिकाको वडा नम्वर १ र २ का बस्तीहरुमा सुर्यास्तसंगै नेपाल टेलिकमको मोबाईल सेवासमेत बन्द हुने गरेको छ ।

रुपाल क्षेत्रका आधा दर्जन गाउँमा सुर्य अस्ताएसंगै नेपाल टेलिकमको नेटवर्क नियमित नहुँदा स्थानीय बासिन्दा सञ्चार सुविधावाट बञ्चित हुने गरेका छन । भागेश्वर गाँउपालिका वडा १ को बुढाकोटमा रहेको नेपाल टेलिकमको टावरमा रहेको सोलार व्याट्रीमा व्याकअप गर्ने क्षमता नभएकाले घाम नलागेपछि भागेश्वर– १ का वयलपाटा, लड्देउ, पिडासाउ, पनिउट र वडा–२ का रुईनपाटा, नौतडी, बिस्तडी लगायत एक दर्जन बढी बस्तीका स्थानीय नेपाल टेलिकमको सेवाबाट बञ्चित हुने गरेको स्थानीय अगुवा डम्बर जोशीले गुनासो गर्नुभयो ।

घाम नलागेको समयमा दिनमा र सुर्य अस्ताएपछि रातीको समयमा वडा नम्वर १ र २ का एकदर्जन बढी गाउँका स्थानीय आफ्न्तसंग सम्पर्क गर्नुका साथै रातीको समयमा कोहि विरामी भएमा वा अन्य कुनै आपतकालिन काम परेमा सञ्चार सुविधाबाट बञ्चित हुनु परेको स्थानीय भिमबहादुर जैसीले बताउनु भयो । सुर्यास्तसँगै सिँगो रुपाल क्षेत्र सञ्चारविहीन हुने गरेकोले रातदिन टेलिफोन सेवा सुचारु गराउन पटक पटक आग्रह गर्दा पनि सम्बन्धित निकायहरुले कुनै सुनवाई नगरेको उँहाको आरोप छ ।
रु

पाल क्षेत्रमा नेपाल टेलिकमको मोबाईल सेवा सुचारु भएको लामो समय भईसक्दा पनि टावरमा बढी क्षमताको सोलार जडान गर्न नसकिदाँ आफुहरुले सञ्चार सुविधाबाट बञ्चित हुनु परेको अर्का स्थानीय दिलबहादुर ठकुराठीले बताउनु भयो । दिनभर घाम नलागेको दिन दिउसै सञ्चारविहीन बन्नुपर्ने अवस्था रहेको उँहाको गुनासो छ ।

सुर्य अस्ताएसंगै नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएपछि यहाँका स्थानीय एनसेल र भारतीय मोबाईल सिम प्रयोग गरेर सञ्चार कार्य गर्न बाध्य भएकोे स्थानीय बताउछन । नेपाल टेलिकमको टावरमा रहेको सोलारको क्षमता कम भएकाले रातीको समयमा टावरले काम छोड्दा नेटवर्क नहुने समस्या भएको र चाडै सबै टावरहरुमा विद्युतीकरण गर्ने योजना रहेको नेपाल टेलिकम डडेल्धुरा कार्यालयका प्रमुख प्रकाशराज भट्टले बताउनु भयो । उँहाले विद्युत सेवाको पहुँच नपुगेका बस्तीहरुमा रहेका टावरहरुमा यस्तो समस्या रहेको स्पष्ट पार्नुभयो । विद्युत सेवा पुग्न नसकेका क्षेत्रहरुमा रहेका टेलिकमका टावरहरुमा यस्तै समस्या रहेको नेपाल टेलिकम डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्