सुडान झडपमा ८० भन्दा बढीको मृत्यु



सुडान , माघ । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था(सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ ।

गत शनिबारबाट शुरु भएको यस झडपमा परी कम्तीमा ८३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६० व्यक्ति घाइते भएका सुनाले उपचारमा सम्लग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।

“शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ८३ जना मारिएका र १६० जना घाइते भएका छन् ।” सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ । सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले थप जानकारी दिएको छ ।

पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेश समेत जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्