मन्त्रालय शैलीमा पैंयुँ गाउँपालिकाको प्रशासनिक भवन बन्दै



पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले चालु वर्ष प्रशासनिक भवन बनाउन शुरु गर्ने भएको छ । गाउँपालिकाले भवन बनाउन डिपिआर तयार पारिसकेको छ । पैयुँ गाउँपालिका वडा नम्बर ४ मा स्थानीयले निशुल्क रुपमा उपलब्ध गराएको ८ रोपनी जग्गामा सुविधासम्पन्न भवन बनाउन थालिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार गाउँपालिकाको भवन मन्त्रालय शैलीमा बनाउन थालिएको हो । गाउँपालिकाले प्रशासनिक भवन बनाउने प्रक्रिया अगाडी बढाएको छ । पौडेलका अनुसार प्रशासनिक भवन निर्माणका लागि ७ करोड बजेट लाग्ने अनुमान सहित डिपिआर तयार भएको छ । गाउँपालिकाले बनाउने प्रशासनिक भवनमा ३०÷ ३५ वटा कोठा बन्ने भएका छन् । लिफ्ट तथा ¥याम्प सहित निर्माण हुने भवनको पर्खालभित्र प्रर्याप्त पार्किङ र बगैँचा समेत हुने भएको छ ।

गाउँपालिकाको भवनमा न्यायिक समितिको ईजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासन, लगायत विषगत शाखाका अलगअलग कोठाहरु बन्ने भएका छन् ।प्रमुख प्रसासकीय अधिकृत पौडेलका अनुसार पैयुँ गाउँपालिकाको प्रसासनिक सहित अन्य विषयगत शाखाका कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । गाउँपालिकाले घर भाडा वापत मासिक ८० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।

गाउँपालिकाले गतवर्ष स्थानीयले उपलब्ध गराएको जग्गा मालपोत कार्यालय मार्फत आफ्नो मातहत ल्याएको थियो । अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले सुविधासम्पन्न र नमूना गाउँपालिकाको भवन बनाउन लागिएको जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासनिक भवन बनाउने प्रक्रिया शुरु भएसंगै गाउँपालिकाको केन्द्र वडा नम्बर ४ मा रहने पक्कापक्की भएको छ । केन्द्रको विषयमा बिबाद समेत हुँदै आएको थियो । यस्तै पैयुँ गाउँपालिकाले वडा ४ र ७ को वडा भवन पनि बनाउन थालेको छ । भवन बनाउन ठेक्का लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्