कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने



जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको प्रकार स्ट्रेन २० देशमा फैलिइसकेको बीबीसीले उल्लेख गरेको छ ।

केही समयअघि बेलायतमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा यो छिटो विस्तार हुने क्षमताका रहेको वैज्ञानिकहरूले जनाएका छन्, जसका कारण अफ्रिकी क्षेत्रमा चिन्ता थपिएको छ । त्यसैगरी, जापानमा पनि अधिकारीहरूले नयाँ प्रकारको भाइरस पत्ता लगाएका छन् ।

उनीहरूले चार जनामा त्यस्तो किसिमको भाइरसको संक्रमण पहिचान भएको जनाएका हुन् । ती मानिसहरू ब्राजिलमा संक्रमित भएर जापान पुगेका जनाइएको छ । त्यस्तै, स्पेनमा पनि भाइरसको नयाँ प्रकार पुष्टि भएको छ । नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ ।

प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा संक्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ । हालसालै विकसित गरिएका खोपहरूसमेत नयाँ प्रकारका लागि पनि प्रभावकारी हुने विज्ञहरूले जनाएका छन् । यद्यपि, आममानिसहरू यसप्रति विश्वस्त हुन नसकेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्