सुदूरपश्चिममा चेली त्यार शुरू



विमल विष्ट, डोटी ।

हिजोआज सुदूरपश्चिमका नौवटै जिल्लाका महिलाहरू निकै बेफुर्सदिला हुन थालेका छन् । माघ महिना शुरु भएसँगै यहाँका महिला आफ्नो घरधन्दाको काम छोडेर पराइघर गएका चेलीलाई त्यार अर्थात् रोेटी दिनका लागि खाद्यान्न पकाउनमै व्यस्त हुने गरेका छन् ।

विवाह गरेर पराइघर गएका चेलीहरुलाई माघ महिनामा मीठोमसिनो पकाएर दिए धर्म कमाइन्छ भन्ने मान्यताअनुसार यहाँका महिलाहरु आफ्ना पराइघर गएका चेलीलाई उक्त परिकार पकाएर दिने चलन रहेको छ । माघ महिनाभर यहाँका महिला आफ्ना छोरीचेलीलाई रोटी पकाएर उनीहरुका घरैमा गएर दिने गर्दछन् ।

सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेलीको त्यार शुरू भएको हो । विवाह गरेर पराइको घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकारहरू पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात् त्यारमाडो दिने भन्ने गरिएको छ ।

विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइती घरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ (त्यारमाडोे) दिने चलन रहेको दिपायल सिलगढी नगरपालिका–५ घोल्तडाकी बिस्नादेवी भण्डारीले बताउनुभयो । माघ महिनाभर छोरीलाई त्यार दिने चलन छ । छोरीको घरमा कम्तीमा तीन दिन पुग्ने गरी खानेकुरा पकाएर दिइन्छ ।

आफ्नो माइती नभएका अर्थात् आमा, बुबा, दाइ, भाउजू नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको अधिकांश महिला बताउँछन् । माइतीले छोरीलाई रोटी अर्थात् त्यार दिने गर्दछन्, माइतमा कोही नभएका दिदीबहिनीलाई त माघ महिनाभर अरूकै त्यार हेरेर बस्नुपर्दा निकै नरमाइलो लाग्ने गरेको बडिकेदार गाउँपालिका–१ की बन्दना विष्ट कलेलले बताउनुभयो ।

उहाँका अनुसार माइतीपक्ष नभएका छोरीचेलीहरू प्रायः यो महिनाभरि जंगलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएर बिताउने गर्दछन् । गाउँघरमा रहेका विवाहित चेलीहरु माघ महिनाभर कहिले माइती आउलान् र तेरेमाडो अर्थात् ‘चेली त्यार’ ल्याउलान् भन्ने पर्खाइमा बस्ने गरेको सायल गाउँपालिकाका उपाध्यक्ष बिस्नादेवी सिंहले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य सातवटा जिल्ला अछाम, दार्चुला, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने चलन परापूर्वकालदेखि चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्