अस्पतालको सानो गल्तीले मृत शिशुको जन्म



 सिड्नी, (एजेन्सी)

अचेत अवस्थाबाट होस खुल्दा आफूले मृत शिशु जन्म दिएको खबर पाएर एक अस्ट्रेलियाली महिला निकै दुःखी बनेकी छन् । वेस्ट अस्ट्रेलियाका बन्बरी शहरस्थित एउटा निजी अस्पतालको गल्तीका कारण उनले सो दुःख भोग्नुपरेको हो । बच्चा जन्माउँदा पीडा नहोस् भन्ने हिसाबले ती महिलालाई १० मिलिग्रामको मोर्फिन दिन चिकित्सकले सिफारिस गरेका थिए ।

तर, गल्तीवश उनलाई १० गुणा बढी अर्थात् १ सय मिलिग्रामको मोर्फिन दिइँदा उनको कोखको बच्चाको समेत ज्यान गएको बताइएको छ । ‘साराह हस्सन’ नामक ती महिला आफ्ना पति सन्नी एलमसँग सामान्य गर्भावस्थामा स्वस्थ शिशु जन्माउन सो अस्पतालमा पुगेकी थिइन् । मोर्फिन ओभरडोजकै कारण साराह अचेत अवस्थामा पुगेकी थिइन् । फलस्वरूप उनलाई सघन उपचार कक्षमा राखिनुपरेको थियो ।

गत १० डिसेम्बरमा सेन्ट जोह्न अफ गड हस्पिटलमा यो घटना घटेको थियो । तर, हालसम्म पनि हस्सन दम्पतीले यस घटनाले आफूहरूको जीवनभरि आघात पुगेको बताउँदै आएका छन् । अस्पताल र चिकित्सकहरूले आफूहरूको सानो गल्तीले गर्दा यसमा ठूलो मानवीय त्रुटि भएको तथ्य स्विकारिसकेका छन् ।

अस्ट्रेलियाको स्वास्थ्य उपचार नियमन निकायले यस घटनामा जिम्मेवार ठहर गरी एकजना मिड वाइफको अनुमतिपत्र निलम्बन गरेको छ । यसैगरी, अर्का एकजना कर्मचारीले आफ्नो गल्ती महसुस गरी स्वेच्छाले राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्