कपाल किन झर्छ ?



कालो, लामो र बाक्लो कपाल साँच्चै अति सुन्दर देखिन्छ । साथै सुन्दर कपाल मानिस स्वस्थ हुनुको पर्यायवाची पनि मान्न सकिन्छ । हुन त कपाल झर्दैमा वा पातलो हुँदैमा मानिस अस्वस्थ हुन्छ भन्न खोजिएको होइन तर सुन्दर र आकर्षक कपाल हुने मानिसलाई सामान्यतया स्वस्थ मान्न सकिन्छ ।

कपाल झर्ने समस्यालाई अंग्रेजीमा ‘एलोपेसिया’ भनिन्छ । ‘एलोपेसिया’ ग्रीक शब्द ‘एलोपेक्स’बाट आएको मानिन्छ । यसको अर्थ फ्याउरो हो, जसको वर्षमा दुईपटक बाहिरी पत्र झर्ने गर्छ । एलोपेसिया पनि आफैंमा कुनै रोग नभई विभिन्न अरु समस्याहरुको कारणले हुने गर्छ ।

कपाल झर्नुको मुख्य कारण आजभोलि नुहाएपछि कपाल सुकाउनका लागि प्रायले हेयर ड्रायरको सहायता लिने गर्छन् । यो कपाल सुकाउन र हेयरस्टाइल बनाउनको लागि त तरिका हुनसक्छ तर कपालको स्वास्थ्यको लागि पनि त्यत्तिकै हानिकारक छ । अनुसन्धानले नै भनेको छ कि कपाल बनाउनका लागि हरेक दिन यस्ता सामग्रीको प्रयोग गर्दा कपाल बिग्रिँदै जान्छ । लगातार आफ्नो कपाललाई सीधा या घुम्रो बनाउने उपचार नै कपाल झर्नेको प्रमुख कारण बन्न सक्छ ।

यस्तै निद्रा नपुगेको असर आँखामा त देखा पर्छ नै । यसको साथमा टाउकोमा पनि देखिने गर्छ । इन्सोमिया, नार्कोलेप्सी र अन्य निद्रासम्बन्धी समस्याले कपालको स्वास्थ्यमा नराम्रो असर पु-याउने गर्छ । कपाल लट्टा पर्ने समस्यामा पनि यसले ठूलो भूमिका खेल्छ । बढी मात्रामा जंकफुडमा निर्भर हुँदा पनि शरीरमा विभिन्न पोषणको कमी हुन जान्छ । जुन कपाल लट्टा पर्ने प्रमुखमध्येको एउटा कारण हो । त्यस्तै, खानपानमा र शरीरको पोषणको बारेमा राम्रोसँग ख्याल नपु¥याउँदा बढी मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

महिलामा गर्भावस्था र प्रसवको क्रममा शरीरमा हर्मोनको मात्रामा उतारचढाव आउने गर्छ । यस्तो बेला महिलामा अत्यधिक कपाल झर्ने समस्या हुन्छ । थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने या अन्य हर्मोनसम्बन्धी गडबडीको कारण तीव्र मात्रामा कपाल झर्ने समस्या हुन्छ ।

हिजोआजको व्यस्त दैनिकीमा हाम्रो शरीरबाट बढी मात्रामा ऊर्जा बाहिरिने गर्छ । यसकै कारण तनावको मात्रा पनि बढेर जाने गर्छ । बढी मानिसमा यस्तो देखिन्छ कि बढी तनावकै कारण उनीहरुको कपाल झर्ने गर्छ । यसको कारण कपालमा अन्य समस्या पनि देखिने गर्छ ।

अहिलेको दुनियामा स्याम्पू, कन्डिसनरदेखि कपालमा लगाउने तेलसमेत रसायनयुक्त आउन थालेको छ । यस्ता प्रडक्टले कपालाई कैयौँ क्षति पु-याउने गर्छ । आजभोलिका अधिकांश कस्मेटिक उत्पादनमा हानिकारक रसयानको मिश्रण गरिएका हुन्छन्, जुन कपाललाई कमजोर बनाउनुका साथै कपालसम्बन्धी अन्य गम्भीर समस्या निम्त्याउने गर्छ । त्यसैले, यस्ता प्रडक्टको प्रयोग गर्दा निकै सावधानी अपनाउन जरुरी हुन्छ ।

आधुनिकतासँगै जीवनशैलीमा तीव्रगतिमा परिवर्तन आइरहेको छ । यस्तो जीवनशैलीले मानसिक कष्ट बढेर जाने गर्छ । त्यसको लागि हामी औषधि उपचारमा लाग्ने गर्छौं । र, यसरी प्रयोग गरिने औषधिले कपालको स्वास्थ्यको खराब असर पर्ने गर्छ । कुनै ड्रग्सको प्रयोग र भारी खानाको सीधा सम्बन्ध पनि कपाल झर्ने र लट्टा पर्नेसँग हुन्छ ।
– कविता ठकुल्ला, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्