नेपाली राजनीतिको ‘हरिबिजोग’



  • पेशल आचार्य

वर्तमान समयको जस्तो राजनीतिक भद्रगोल नेपालमा शायदै कहिले भएको थियो । छँदाखाँदाको दुई तिहाइनजिकको पार्टीको सरकारले अनावश्यकरूपमा पार्टीको बखेडालाई बीचमा ल्याएर प्रतिनिधिसभा भङ्ग गरेको छ । बेमौसममा बजेको बाजाजस्तै चुनावको डंका पिटिएको छ, जसबाट जनतामा अन्योल र त्रास सिर्जना भएको छ ।

जनता सबै नेता, पार्टी र तिनका हनुमान कार्यकर्ताहरूबाट दिक्कवाक्क भएका छन् । एकप्रकारले भन्ने हो भने, जनतामा घोर निराशाको बादल छाएको छ । समस्याहरूको वस्तुगत वर्गीकरण गरी योजनाबद्ध समाधान निकाल्न सक्ने एउटै पनि योग्य र भरपर्दो ‘राजनेता’ नेपालमा अहिले देखिएका छैनन् । जनता भोलि के हुन्छ भन्ने सोचिरहेका छन् ।

अर्थमन्त्री हुँदा व्यापारी, कर्मचारी र जनता सबैका हाइहाई भएका बाबुराम प्रधानमन्त्री हुँदाचाहिँ फाइल रोक्ने श्रीमतीका कारण पटक–पटक विवादमा नआएका होइनन् । आफन्तवादलाई काखी चेपेको आरोप खेपेका बाबुरामलाई भावनात्मकरूपमा बग्ने नेताका रूपमा समेत लिइयो । कहिले थर फेर्ने, कहिले पार्टी फेर्ने र कहिले संविधानसभाबाटै पलायन हुने बाबुरामको स्पिरिटमा चल्ने कार्यकर्ताले पनि उनलाई अस्थिर नेता मान्ने गर्छन् ।

अमेरिकाजस्तो देशमा त चुनावी प्रक्रियाबाट हट्नुपर्ने राष्ट्रपतिका हरुवा उम्मेदवार डोनाल्ड ट्रम्पले क्यापिटल हिलमा आफ्ना अमेरिकी अरिँगालहरूलाई आक्रमण गर्न लगाएर विश्वव्यापीरूपमा निन्दा र घृणाका पात्र बनेका छन् । विश्वमा दृश्य÷अदृश्य रूपका दादागिरी देखाएर विकसित, विकासोन्मुख र अति कम विकसित देशहरूमा मनोवैज्ञानिक शासन गर्न सफल अमेरिका यतिखेर व्यापक चर्चा र चासोको विषय भएको छ । खासगरी त्यो सन्दर्भ प्रजातन्त्रभन्दा पनि राष्ट्रपतिका पराजित उम्मेदवार डोनाल्ड ट्रम्पको सर्वसत्तावादी सोचका कारण भएको हो भन्ने कुरा पूरा विश्व जान्दछ ।

एउटा भनाइ छ– ‘शिखरमा चढ्न सकिन्छ तर त्यसमा सधैँ अडिरहन सकिँदैन ।’ यो कुरालाई अर्थशास्त्रको भाषामा भन्दा उपयोगिताको ह्रास नियमले सम्बोधन गर्न सकिन्छ । गणितको भाषामा भन्दा अप्टिमम् प्वाइन्ट भन्छ । राजनतिक भाषामा भन्दा राजनीतिको पराकाष्ठा भन्ने हुन्छ ।

त्यसै गरी सामाजिक भावभङ्गीमा भन्दा ‘मैमत्त भएको’ भन्ने बुझिन्छ । अहिले नेपाली क्रियाशील विभिन्न पार्टीका नेताहरू धेरथोर मात्रामा मात्र हो सबै नेपाली राजनीतिको हरिबिजोग बनाउनका उत्तिकै जिम्मेवार छन् । कोही कसैभन्दा कम छैनन् ।
यो सानो लेखमा नेपाली नेता र तिनीहरूका अनेकानेक विशेषतालाई मानवीय गुण–दोषका आधारमा यहाँ निष्पक्ष चित्रण गरिएको छ ।

अहिले सिनारियोमा देखिएका कुनै नेपाली नेताहरूमा ‘राजनेता’ हुनलायक एउटा पनि गुण छैन । आफ्ना पार्टीहरूका झोले कार्यकर्ता, नेताहरूले जुनसुकै प्रकारको गल्ती गर्दा पनि आँखा चिम्लेर देवत्वकरण गर्ने हुस्सु समर्थक, लाभको पद डम्फ्याउने हुक्के/बैठके समर्थक र अन्ध भोटरहरूबाहेक आमनेपाली जनताको हृदयमा घर गर्न सक्ने राष्ट्रवादी, निर्लोभी, निष्पापी, शूरवीर र गौरव गर्नलायक भिजनेरी एकजना नेता छैनन् । दुःख लाग्न सक्छ, यो आलेख पढिरहँदा जो–कसैलाई तर यो पनि सत्य हो कि लेख्ने लेखकलाई समेत यसो भनेर लेखिरहँदा पउल दुखानुभूतिको अनुभव भैरहेको छ ।

यसो भनेर यहाँ कुनै नेताको पक्ष वा विपक्षमा लागेर आवश्यकताभन्दा बढी कसैलाई देवत्वकरण र अनावश्यकरूपमा कसैलाई दानवीकरण गर्न खोजिएको छैन÷होइन । त्यसो गर्नुपर्ने कुनै दरकारै छैन । जनताका एङ्गलबाट ‘स्वट एनालाइसिस’ को दृष्टिकोणले मूल्याङ्कन गर्न खोजिएको र भविष्यको मार्गचित्र प्रस्तुत गर्न मात्र खोजिएको छ । यो कुरा लोकतन्त्रमा एउटा जिम्मेवार नागरिकको कर्तव्यभित्रै पर्दछ ।

नेकपा ओली गुटका नेता तथा काम चलाउ प्रम केपी शर्मा ओली : बाँचेका र राजनीतिमा क्रियाशील नेताहरूमा ओली सर्वाधिक चतुर, टाठा, धूर्त, द्विअर्थी बोलीका नामी खेलाडी, उखान टुक्काका सशक्त प्रयोगकर्ता, विकासे सपनाहरू देख्ने तर त्यसलाई वस्तुगतरुपले मूर्तरूप दिन एक्सन प्लान गर्न नजान्ने/नमान्ने, आत्मरतिमा रमाउने, अहम्–दम्भ र पउल फुइँ छाट्न सक्ने, कसैले नजिकबाट वाह ! भनेर प्रशंसा गरिरहनुपर्ने स्वभावका नेता हुन् ।

यो प्रवृत्तिको नेता नेपालमा यसअघि कहिल्यै देखा परेका थिएनन् । सत्तासुख धेरै गरे पनि र सत्ताको राप–तापबाट जहिल्यै नजिक रहे पनि स्व. सूर्यबहादुर थापा ओलीभन्दा धेरै शालीन नेता थिए । ओलीका पालामा गरिएका राम्रा कामलाई, शुरू गरिएका राम्रा कामलाई पनि यिनका पालामा भएका केही कामहरूले कालो पोत्ने काम ग-यो ।

जस्तै– निर्मला पन्त बलात्कार/हत्याको मुद्दा सामसुम पारेको, ३३ किलो सुनको केस इलिक् न मिलिक् बनाएको, ललिता निवास जग्गा प्रकरणमा दुईजीब्रे बोली बोलेको, यती होल्डिङ्सलाई विवादास्पद ठेक्का दिलाएको, कोरोना महामारीमा हुँदै नभएका कम्पनी खडा गरी स्वास्थ्य सामग्रीमा भएको व्यापक भ्रष्टाचारमा माउ–पोथीले चल्ला छोपेझैँ तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र राजनीतिक सल्लाहकारलाई सुरक्षा कवच प्रदान गरेको, मानसपुत्र भनिने तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड डिलिङ केसमा चापचुप भएको, चुच्चे नक्सामा द्विअर्थी व्यवहार प्रदर्शन गरेको र संविधानमा नभएको कुरालाई उछाल्दै पार्टीभित्रको जुँगाको लडाइँमा देश र जनतालाई अन्योलतर्फ धकेलेका जस्ता संगीन आरोपहरू लागेका छन् ।

यी आरोपहरूलाई ओलीले बाँचुन्जेल सत्तामा रहँदा त सामना गर्नु नपर्ला तर कथंकदाचित सोच्दै नसोचे गरी सत्ताबाट बाहिरिनुप-यो कुनै दिन भने अनि देश र जनताले साँच्चै हिसाबकिताब माग्ने बेला आउनेछ । नेपालमा एकताका अख्तियार प्रमुख लोकमानसिंह कार्की, आयल निगमका अध्यक्ष तथा महाप्रबन्धक गोपालबहादुर खड्का र नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झाहरूको कार्यशैलीलाई देश र जनताले काला दिनका रूपमा चित्रण गरेकै छन् ।

अहिले हेर्ने हो भने यी माथि नाम लिइएका व्यक्तिहरूको सार्वजनिक जीवन नै छैन । अमर हुने लालसा छ भने वर्तमान काम चलाउ भैसकेका प्रम ओलीले भविष्य प्रभावी केही कामहरू गर्न सक्नुपर्छ, जसले उनको शासनलाई भविष्यमा सम्झिरहन सकियोस् । अहिले उनीपछि लागेर मह चाट्नेले जयजयकार गरेको त केही समयका लागि मात्रै हो । तिनीहरूले ओली बा सत्ताबाट ओर्लिएर बालकोट जानासाथ मरेको बाख्रोलाई उपियाँले छोडेझैँ छोड्ने छन् ।

विघटित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा : देउवालाई समयले हिरो बन्ने अवसर दिँदा पनि यिनी समयलाई राम्रो गरी चिनेर हिरो बन्न नसकेकै हुन् । स्थानीय चुनावमा यिनले प्रचण्डसँग साँठगाँठ गर,े फाइदा उल्टै प्रचण्डलाई भयो । प्रचण्डले नजित्ने छोरीलाई मेयर बनाए, त्यो पनि भरतपुरजस्तो चर्चित महानगरपालिकाको ।

केन्द्र र प्रदेशको चुनावमा प्रचण्ड यिनको पकडबाट फुत्किए, फलतः ओली र प्रचण्डको विचार, सिद्धान्त र दर्शन केही छेउ–टुप्पो नमिले पनि स्वार्थ मिलेकाले र कांग्रेसलाई कर्नरमा पार्ने उद्देश्य दुवै भाइको रहेकाले देउवा पछिल्लो चुनावमा छेउ लागेका हुन् ।

अनि त्यसपछि यिनी ३ वर्षसम्म सदनमा यसरी निदाए कि कुनै व्यापारी दुर्से घोडा बेचेर निदाउँछ । उनले खरो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकैले नेकपाले गुट–उपगुट र सहगुटमा मञ्च दिएर आफ्ना नेता र कार्यकर्ताहरूलाई राजनीतिक बजार गुल्जार पारिदिन सक्यो । फलतः भीम रावल, रामकुमारी झाँक्री, योगेश भट्टराई र घनश्याम भुसालजस्ता युवा तथा प्रौढौन्मुख नेताहरूको राजनीतिक मण्डी अलिबार गर्मायो । अहिले यी सबै प्रचण्ड–नेपाल गुटमा सामेल भएका छन् ।

देउवालाई उनकी ‘मदर इन ल’को जापानको महामहिम राजदूत पद साह्रै घाँडो भयो । बुज्रुक मानिसहरू भन्ने गर्छन्– ‘उनले कांग्रेसको सबै शाख फरियाको नातामा साटे, विचरा !’ ओलीले उनलाई यही केसमा घुमाई–घुमाई चुप लाग्न लगाए । संसद्भित्र एकजना प्रतिपक्ष मात्रै भए पनि त्यसको चिन्तन यदि ‘भाग शान्ति जय नेपाल’ मा मिलेको छैन भने त्यो पेट्रोलमा लागेको आगोजस्तो हुन्छ, पानीले जति निभाउन खोज्यो उति बल्ने । बितेका पाँच वर्षका दौरानमा देउवाले कांग्रेसमा नयाँ प्राण केही भर्न नसकेको भान हुन्छ ।

भन्नेहरू त हाकाहाकी नै भन्छन्– ‘अब पनि कांग्रेसले आउँदो चुनावमा प्रधानमन्त्री गगन थापा, कांग्रेस सभापति शेखर कोइराला, राष्ट्रपति कृष्ण सिटौला, सभामुख विश्वप्रकाश शर्मा, उपराष्ट्रपति धनराज गुरुङ भनी किटेर जाँदैन जनता क्रमशः उनीहरूमाथि दिल्लगी भएको ठानेर चुप लागेर बस्नेछन् । भोटरहरू क्रमशः घट्दो स्थितिमा गैरहेको चिन्ता र चासो कांग्रेसलाई पटक्कै छैन । ऊ त विपक्षी पार्टी टुक्रिएर आफू स्वतः ठूलो हुन पाएको आत्मरतिमा मख्ख परेको छ ।

कठै ! यही बुद्धिले कसरी सर्वसत्तावादी हुँदै गएको कम्युनिस्टहरूको सत्ता जबर्जस्त कांग्रेसले खोस्न सक्छ ? चित्त बुझ्दो उत्तर दिने कांग्रेसीहरू नै देखिँदैनन् ।’‘देउवाले आउँदो चुनावमा कांग्रेसलाई ओभर वाइलिङ गर्न सकेनन् भने कांग्रेस फेरि सर्कसको बाघ बन्न बेर छैन । यद्यपि देउवालाई इमानदार, सोझा, पढेका, विश्व राजनीति बुझेका, मौन रहन मन पराउने, हाउडे, थोरै प्राप्तिले पनि खुशी हुने नेता भनिन्छ ।

उनले गरेको प्रजातन्त्रप्रतिको त्याग र निष्ठामा कुनै प्रश्न उठाउने ठाउँ भने छैन । इन्जिन थोत्रो भैसकेको कांग्रेसरूपी गाडीलाई यिनले नयाँ तरिकाले सर्भिस गरेर मेन रोडमा घुइँक्याउन क्छन् कि सक्दैनन्, युवाहरू पर्खिरहेका छन् ।’

बोली र लोलीका ठेगान नभएका नेता डा. बाबुराम भट्टराई : सक्रिय राजनीतिमा सबैभन्दा पढैया नेता, जनयुद्धबाट फुत्त निस्किएका लडाकू व्यक्तित्व, देश निर्माण गर्न सक्ने भिजनरी नेता, पढेको/बुझेको कुरा लेख्न पनि सक्ने नेताका रूपमा डा. बाबुराम भट्टराईलाई लिइन्छ ।

अर्थमन्त्री हुँदा व्यापारी, कर्मचारी र जनता सबैका हाइहाई भएका बाबुराम प्रधानमन्त्री हुँदाचाहिँ फाइल रोक्ने श्रीमतीका कारण पटक–पटक विवादमा नआएका होइनन् । आफन्तवादलाई काखी चेपेको आरोप खेपेका बाबुरामलाई भावनात्मकरूपमा बग्ने नेताका रूपमा समेत लिइयो । कहिले थर फेर्ने, कहिले पार्टी फेर्ने र कहिले संविधानसभाबाटै पलायन हुने बाबुरामको स्पिरिटमा चल्ने कार्यकर्ताले पनि उनलाई अस्थिर नेता मान्ने गर्छन् । यी सबै अवगुण सपार्न सके भने उनी भावी नेपालका दुःखहर्ता नेता नबन्लान् भन्न सकिन्न ।

विवेकशील साझाका द्वयनेता रवीन्द्र मिश्र र मिलन पाण्डे : कोरोना कहरका कारण अधिकांश विदेशिएका नेपाली देशमा फिरे भने भावी राजनीतिमा पक्कै पनि यिनीहरूको दिन बलियो हुनेछ । यिनहरूले फेसबुके राजनीतिलाई ७७ जिल्ला, हिमाल, पहाड र तराईका गाउँ–गाउँमा लैजान सक्नुपर्छ । यिनीहरूले भनेको आदर्श लोकतन्त्रमा राइट टु रिजेक्ट र रिकल सिस्टम जोड्न सकियो र आदर्शको राजनीति, विकासको राजनीति र पूर्वाधारको राजनीतिलाई अघि बढाउन सके भने दशकपछि यिनीहरू मेन सिटमा बसेर देश ड्राइभ गर्न सक्नेछन् ।

एउटा कुरा यी दुवैले बुझ्नु प-यो कि युवालाई मात्र साथ लिएर हुँदैन । युवाहरू पनि बाँडिएका र भाँडिएका छन् । सरल, स्पष्ट र देश विकासका खाकाहरूमा आदर्श लोकतन्त्रको विचार जोडेर जनतालाई आश्वस्त पार्न सके भने यी र यीजस्ता युवा नेताहरूले यो अहिलेको ‘हरिबिजोग राजनीति’ लाई पार लगाएर नयाँ लोकतन्त्रको युग ल्याउनेछन् । जनताले त मात्र आश गर्ने हुन्, बाँकी जिम्मा नेताहरूको हो ।

प्रतिक्रिया दिनुहोस्