कोरोना भगाए, पर्यटक आए, कञ्चनजङ्घा हँसाए



उचाइको आनन्द : ५ हजार १ सय मिटर उचाइमा रहेको आधार शिविर (पाङ्पेमा) पुगेका आन्तरिक पर्यटक ।

दिलकुमार लिम्बु, ताप्लेजुङ ।

कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि लामो समयसम्म विदेशी तथा स्वदेशी पर्यटकको अनुहार हेर्न नपाएको कञ्चनजङ्घा केही समययता सेता दाँत देखाएर हाँसिरहेको छ । पर्यटकलाई खुवाउने होटल पनि विस्तारै खुल्न थालेका छन् ।

कोरोना भाइरसका कारण गत चैतदेखि पर्यटकीय गतिविधि ठप्प नै थियो । तर, अहिले महामारीकै अवस्था रहे पनि पर्यटकीय स्थलहरुमा चहलपहल बढेको छ । लाग्छ, पर्यटकको मनबाट अब कोरोना भागिसकेको छ । आन्तरिक पर्यटकले भए पनि केही आशा जगाएको कञ्चनजङ्घा आधार शिविरमा पर्ने ग्याब्लाका पासाङ शेर्पा बताउनुहुन्छ । कञ्चनजङ्घा आधार शिविर पुग्नेमा हाल आन्तरिक पर्यटन नै बढी छन् ।

फुङ्लिङकी मनीषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल हेर्ने, कम्तीमा आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैं बिदामा उनले त्यो रहर पूरा गरिन् । ‘पहिले त हिमालमा विदेशीहरु मात्रै जान्छन् जस्तो लाग्थ्यो । तर, त्यस्तो होइन रहेछ’, मनीषा भन्छिन्– ‘आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुसी लागेको छ ।’ कञ्चनजङ्घा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्यहरु आफूले सुनेभन्दा निकै राम्रो लागेको उनको अनुभव छ ।

मनीषा मात्रै होइन, पछिल्लो एक महिनामा ७० जनाभन्दा बढी जिल्लाबासी कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएका छन् ।
‘पहिला नेपाली खासै आउँदैनथे । त्यसमा पनि घुम्नैका लागि भनेर ताप्लेजुङबासी आएको मलाई थाहा थिएन’, आधार शिविर प्रवेशद्वार घुन्साका व्यवसायी धार्के शेर्पा भन्नुहुन्छ– ‘अहिले जिल्लाबासी नै धेरै आइरहेका छन् ।’ विदेशी पर्यटक नआएको समयमा आन्तरिक पर्यटकले भए पनि आफूहरुलाई केही राहत भएको उहाँको भनाइ छ । विदेशी भने एक जना अमेरिकी र एक चिनियाँ मात्रै पुगेको शेर्पा सुनाउनुहुन्छ ।

फुङलिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन लिम्बु पनि गत हप्ता ६ जनाको टोलीसहित आधार शिविर (पाङ्पेमा) पुगेर फर्किनुभयो । ‘बाहिरका साथीहरुले कञ्चनजङ्घाका बारेमा सोध्थे । त्यस बेला बताउन आफैलाई अप्ठ्यारो लाग्थ्यो’, लिम्बुले भन्नुभयो– ‘एकपटक पुग्नैपर्ने ठाउँ रहेछ ।’

पछिल्लो समय नेपालीहरुमा घुम्ने बानीको विकास भइरहेको र त्यसलाई राज्यले थप प्रवद्र्धन गर्नुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वकार्यालय सचिव तेञ्जिङ वालुङ बताउनुहुन्छ । कञ्चनजङ्घा पुग्ने पर्यटकका लागि भदौ–कात्तिक र फागुन–वैशाख महिना उत्तम हो । अघिल्लो वर्ष १ हजार ३ सय जनाले आधार शिविर घुमेको परिषद्को तथ्याङ्क छ ।

कञ्चनजङ्घा पदमार्गमा ६२ वटा होटल सञ्चालनमा छन् । नेपालमा कोरोना फैलिएपछि ती सबै बन्द थिए । अहिले आन्तरिक पर्यटक गएपछि अधिकांश होटल खुलेका छन् । पदमार्गमा पर्ने सेकाथुम, जापानटार, आम्जिलेसा, ढाङ्ग्याम, ग्याब्ला, फले, घुन्सा, खम्वाचेन, लोनाक, चेइराम, सेलेले, ओक्तान र तोरोङ्देनका स्थानीय हिमाल घुम्न आउने पर्यटकमै आश्रित छन् । पर्यटक नआउँदा आफूहरु मारमा पर्ने गरेको फलेका नोर्बु शेर्पा बताउनुहुन्छ ।

सिरिजङ्घा गाउँपालिकामा पर्ने ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालका दुई आधार शिविर छन् । पाङ्पेमा उत्तरी आधार शिविर हो, जहाँबाट हिमाल हेर्न मात्रै सकिन्छ । हिमाल चढ्ने दक्षिणी आधार शिविर ओक्तानबाट हो । आधार शिविर जाने पदमार्ग पनि दुईवटै छन् ।

सदरमुकाम फुङलिङबाट सिरिजङ्घा गाउँपालिकाको हप्पुखोला–याम्फुदिन हुँदै एउटा र फक्ताङलुङ गाउँपालिकाको तापेथोक–घुन्सा हुँदै जाने अर्को बाटो छ । एउटा आधार शिविर मात्रै गए फुङलिङबाट ८–१० दिन र दुवै गए १५–२० दिन लाग्छ । फुङलिङबाट पदमार्गमा होटल र टि–हाउस प्रशस्तै रहेकाले दुवै आधार शिविर पुग्न सहज रहेको तापेथोकका व्यवसायी सुशन लिम्बु बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्