नाराविहीन चुनावी अन्योल



नगेन्द्रराज पौडेल ।

प्रधानमन्त्रीले हठात् प्रतिनिधिसभा विगठन गरेर चुनावी प्रस्ताव गरेपछि देशको राजनीतिक परिदृश्यमा एकाएक परिवर्तन आएको छ । लगभग दुई तिहाइको एकमना सरकार आफ्नै राजनीतिक दलको व्यवस्थापन गर्ने सीप र सामथ्र्यको अभावका कारणकाम चलाऊ बन्न पुुगेको छ । समग्र मुलुक कुुबेलाको असान्दर्भिक निर्वाचनमा होमिनुपर्ने भएको छ । यो अवस्था सत्तारुढ दलको एउटा खेमाका लागि बाध्यत्मक भए पनि आम नेपालीका लागि कुनै पनि हालतमा राम्रो होइन । नेपाली जनताले दिएको मताधिकार जोगाउन नसकी संसद् भंग गर्ने सरकारी शैली यतिबेला सर्वत्र आलोच्य बनेको छ ।

नारा के ?

२०५१ सालमा नेपाली कांग्रेसको आफ्नै पार्टीको बहुमतको सरकार थियो । पार्टीको आन्तरिक द्वन्द्व,खिचातानी र गुटका कारण सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित हुने अवस्थामा ३६जना सांसदहरु अनुपस्थित रहे। फलस्वरुप सरकारको कार्यक्रम विफल भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भंग गरी मध्यावधि निर्वाचन तोके । राष्ट्राध्यक्षको भूमिकामा रहेका राजा वीरेन्द्रले प्रधानमन्त्रीको सिफारिस सदर गरिदिए । हेर्दाहेर्दै नेपाली कांग्रेसको एकमना सरकारकाम चलाउमा परिणत भयो । मुलुक चुनावमा गयो ।

त्योबेला कांग्रेससँग चुनावी नारा थिएन । बहुमत यसअघि जनताले दिएकै थिए । व्यवस्थापन गर्ने सामथ्र्यको अभावमा बहुमतीय सरकार ढालेको कुरामा नेपाली जनता राम्रैसँग जानकार थिए । कांग्रेसका लागि चुनावनाराविहीन बन्यो।गिरिजाप्रसाद कोइरालाले एमालेलेढुंगामुढा गरेर सदन चल्न नदिएकोले मध्यावधिमा जानुपरेको भन्दै भाषण गर्दै हिँडे । उनको उक्त भाषण सफेद झुट थियो । दुधेबालकले पनि संसद् भंग गर्नुपर्नाकोउनको तर्कपत्याएनन् ।परिणामस्वरुप हुँदाखाँदाको सरकारबाट नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्नुपर्‍यो ।त्यो गल्तीको परिणाम आजसम्म नेपाली कांग्रेसले बेहोर्दै आएको छ ।

सधैँ सग्ला घाम हुँदैनन् :

सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा त्यहाँका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पदोस्रो कार्यकालका लागि पराजित भए ।मत परिणाम उनका लागि अप्रत्यासित बन्यो ।सत्य यही थियो,चुनावमा उनी हारे ।अघिल्लो चुनावमा विजयी भएदेखि नै उनमा सत्ताको उन्माद देखिएको हो । न विदेश नीति, न कुटनीति, न आन्तरिक व्यवस्थापन, उनी चारैतिर चुके ।एककिसिमले उनको रबैयाभुुइँ न भाँडामाजस्तो देखियो । सत्ता बन्दुकको नालबाट होइन, जनताको मनबाट प्राप्त हुन्छ भन्ने कुरा अमेरिकी जनताले उनलाई राम्रैगरी सम्झाइदिए । सत्ता जोगाउन उनले हालै गरेको पछिल्लो हर्कत पनि अफापसिद्ध भयो । राजनीतिक अपरिपक्वताको लक्षण उनमा प्रशस्त देखियो ।अहिले त्यहाँ ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेस गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न अब केही दिनमात्रबाँकीछ। यहीबेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो ।त्यहाँ संविधान र लोकतन्त्रका लागि राष्ट्रपतिबाट हमला भएको आरोप लगाइएको छ ।ट्रम्पले हिंसालाई बढावा दिएको आरोपपनि लगाइएको छ ।

गत हप्ता ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसद्भित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । सो हिंसामा एकजना प्रहरी अधिकारी र चारजना सर्वसाधारणको मृत्यु भएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो बाइडन विजयी भएको औपचारिक घोषणा गर्न नदिने उद्देश्यले ट्रम्प समर्थकहरुले आक्रमण गरेकाथिए तर उनको उद्देश्य भने सफल हुन सकेन।

भारतको छत्तीसगढ राज्यमा भाजपाका नेता डा. रमनसिंह निकै लोकप्रियनेता हुँदाहुँदै पनि २०७५ साल मंसिरमा भएको विधानसभा चुनावमा उनी भाजपाकै गढ मानिएको छत्तीसगढमा कांग्रेस आईसँग नराम्ररी पराजित भएका थिए । हेलिकोप्टर खरिदमा अनियमितता गरेको, ग्लोबल टेन्डर गर्दा अर्बाैं रुपियाँ घोटाला गरेको आरोपमा उनलाई जनताले मत दिएनन् । तीन–तीनपटक मुख्यमन्त्री बनेका उनी चौथोपटक पुनः मुख्यमन्त्री बन्नेसपना हेलिकोप्टर काण्डकै कारण चकनाचुर भयो ।

यी घटनाबाट नेपालका राजनीतिक दल र तिनका नेताले शिक्षा लिन सक्नुपर्छ । नेपालमा पनि पहिलो संविधानसभा चुनावमा तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालदुुई–दुुई ठाउँबाट निर्वाचन लडेर पनि पराजित भएका थिए । यसैकारण उनले पार्टीको महासचिव पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए ।दोस्रो संविधानसभा निर्वाचनमा माओवादी नेता पुष्पकमल दाहल प्रचण्ड दुईठाउँबाट चुनाव लडेकोमा एकठाउँबाट पराजित भएका थिए । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल, सरकारको नेतृत्व गरिसकेको पार्टी माओवादीका शीर्ष नेता प्रचण्डको हारउतिबेला सामान्य थिएन ।त्यत्रो जनयुद्धको कमान्डर उनका लागि यो पराजय सामान्य नेताको पराजयसँग तुलनायोग्य थिएन ।तैपनि जनताले मत नदिएपछि उनी मात्र होइन उनको पार्टीसमेत दोस्रो संविधानसभा चुनावमा पहिलोमाभन्दा निकै साँघुरिएको थियो ।

२०७४ सालको आमनिर्वाचनमा नेकपा एमालेका शक्तिशाली नेता बामदेव गौतमआफ्नै निर्वाचन क्षेत्रबाट नराम्ररी पराजित भए । तत्कालीन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई जनताले गृहनगर गोरखाबाट अस्वीकार गरेका थिए । विभिन्न विवादकाबीच जनताद्वारा अस्वीकृत नेतालाई राष्ट्रिय सभामा लगिएकोमा यतिबेला बामदेवका नाममा निकै आलोचना पनि भयो ।दुई–दुुई ठाउँबाट पराजित माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा विगतमा उनको कटु आलोचना भएको थियो ।नैतिकतामा ह्रास आएपछि जसले जे गरेपनि हुने बेग्लै कुरा हो । अन्यथा जनताले एकपटक तिरष्कार गरेको व्यक्ति उही कार्यकालमा जनताकै प्रतिनिधिसरह कार्यकारी पदमा बसेर जनतामाथि नै शासन गर्न सुहाउँदो कुरा थिएन । तर हाम्रा नेतालेत्यही कुरा अवलम्बन गरे ।वरिष्ठ समालोचक प्राध्यापक डा. सुरेन्द्र केसीका शब्दमा‘दि दिया बन्दुक, हो गया हवल्दार’ को स्थिति देखियो ।

नैतिक संकटमा दल :

यतिबेला नेकपा नामको राजनीतिक दललाई नैतिक संकट परेको देखिन्छ ।उसलाई जनताले ५ वर्षका लागि विश्वास गरेर सदन र सरकारमा जाने म्यान्डेट दिएका हुन् । राष्ट्रियता, सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त शासनव्यवस्थाका लागि जनताले उक्त दललाई पत्याएका थिए ।भारतीय नाकाबन्दीका विरुद्धतत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी शर्मा ओलीले लिएको अडानप्रति जनतामा आदरभाव थियो । तरउक्त दललेजनताले विश्वास गरेर दिएकोे नासो ५ वर्ष जोगाउन सकेन । जनताको विश्वास जोगाउन नसक्नेले पुनः जनतासँग केनारा लिएर जानेहो ? अब उसको घोषणापत्रमा के लेखिने हो ? कसलाई दोष दिएर मत माग्ने हो ? सबैतिर अन्योल देखिन्छ । एकपटकदिएको विश्वास सधैँका लागि कायम राख्न सकिँदैन भन्ने प्रमाण उक्त पार्टीले देखाएको छ ।पार्टीको आन्तरिक कलह, झगडा र खिचातानीको निकास संसद् भंग हो कि नेकपा नामको राजनीतिक दलको स्थायी समिति, सचिवालय र परी आए केन्द्रीय कमिटी भंग गर्नुपर्ने हो ? यसको उत्तर जनताले थाहा नपाएसम्म नेकपा नामधारी दल जनतामा जानुको कुनै औचित्य देखिँदैन ।

खै त्यो पार्टीका नेताले बुुझेको ? सरकारका लागि संसद् बाधक भएको थिएन । अरु राजनीतिक दल पनि उसका लागि साधक नै थिए । सरकारका लागि आफ्नै दलको सचिवालय, केन्द्रीय कमिटी र स्थायी कमिटी नामका संरचना बाधक थिए । आफ्नै दलका शीर्ष नेताहरु बाधक थिए ।अरुका लागि सरकार बाधक थियो ।यसको समाधान जनताको अभिमतलाई लत्याएर निस्कनेवाला थिएन ।भनाइ पनि छ, आफ्नी छोरी उत्ताउली छ भने तन्नेरीलाई दोष लगाउन पाइँदैन । तर यहाँ भएको छ त्यस्तै ।यसको निकास उक्त पार्टीको आन्तरिक व्यवस्थापनबाट निकाल्नसक्नुपर्ने थियो ।भालुको रिस खनियामाथि पोख्न सुहाउँदैनथ्यो ।उसलाई किन चाहिएको हो ताजा जनादेश ?
बहुमतीय सरकार व्यवस्थापन गर्न नस्क्नुको कारण के हो ? ती कारणहरु निमिट्यान्न भैसकेका छन् कि बाँकी छन्? बाँकी छन् भने पुनः त्यही प्रवृत्ति पुनरावृत्त हुँदैन भन्ने आधार के हो ? यी सबै प्रश्नको सटिक जवाफ नदिएसम्म उसकालागि चुनाव अब तातो भुङ्ग्रोमाथिको हत्केलो साबित हुने पक्कापक्की छ ।विडम्बना,यो घटनाले नेकपायतिबेला भुुइँको टिप्नखोज्दा पोल्टाको पनि गुमाउन उद्यत् देखिन्छ । यसका लागि नाराविहीन चुनावी परिणामसम्मभने कुर्नुपर्ने हुन्छ ।

जनादेश केका लागि ? 

कुनै पनि मुलुकमा सरकारी नीति तथा कार्यक्रम, राष्ट्रिय महत्वको विषय, धर्म, शासकीय स्वरुपका बारेमा निर्णय लिनुपर्दा सरकार ताजा जनादेश वा जनमत संग्रहमा जान सक्छ । सरकारी नीति तथा कार्यक्रम असफल भएको अवस्थामा नैतिकवान् सरकारले राजीनामा दिन्छ भनेपदलोलुपतामा रमाएको सरकारले जनादेशमा जान खोज्छ । हामीकहाँ यी कुनै पनि अवस्था विद्यमान देखिँदैनन् । सरकारका नीति,कार्यक्रम असफल भएका छैनन् । सरकार पूर्ण बहुमतमा नै छ । कसैले दल त्याग गरेको अवस्था छैन ।अनि, केका लागि ताजा जनादेश ? बरु सक्ने भए आफ्नै पार्टीमा बहुमतीय निणर्यबाट सरकारको नेतृत्वका लागि पात्र चयन गर्दा हुन्थ्यो । यो त कुन्नि केका रिसले पोइका काखामा केजाती गरेजस्तो भएन र ?

सरकार शानदार बहुमतमा छ । आफ्नो पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापन गर्न नसकेको हुँदा बहुमत प्राप्त दलभित्रै सरकारको नेतृत्वसम्बन्धी विवाद देखिन्छ । यो विवादले राष्ट्रिय राजनीतिमाखासै असर पार्नुपर्ने होइन । लोकतन्त्रमा सरकार प्रतिपक्षसँग डराउनुपर्ने हो । तर हामीकहाँउल्टो अवस्था देखियो। आफ्नो घरको झगडाले छिमेकीलाई दुःख दिएजस्तो अवस्था आयो । यो अवस्था आउनु भनेको दुःखद अवस्था होे । कसैको घरको आन्तरिक बेमेलको कोपभाजन उसको अर्को छिमेकी हुनुहुँदैन । यतिबेला सरकारको नेतृत्व नेकपाले गर्ने हो । नेकपाको आन्तरिक विधि,विधानले कसलाई कसरी नेतृत्वका लागि पठाउँछ, उसको कुरा हो । तर उसको आन्तरिक मन नमिलेकै भरमा संसद्लाई नै छप्काउनु कुनै पनि राजनीतिक दलका नेताका लागि सुहाउँदो काम होइन । इतिहासले यीपात्रहरुको हिसाब राख्नैपर्छ । नाराविनाको चुनाव अन्ततोगत्वा यसका प्रस्तावकलाई पनि महँगो पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्