धार्मिक आस्था : विदेशीको पास्नी हिन्दू परम्पराअनुसार



डा. अरुणा उप्रेती । 

केही दिनअघि मेरो घरमा पूजा गरियो । पूजाको प्रसाद मेरो अफिसमा समेत लगेँ । अफिसका सबै कर्मचारीले मैले लगेको फलफूल, नरिवल, पञ्चामृत प्रसादको रुपमा खाए । ‘तपाईंकहाँ पनि पूजा हुन्छ र ? तपाईं त धर्मकार्यमा विश्वास गर्नुहुन्न नि !’ एकजनाले भने ।

मैले तुरुन्तै जवाफ दिएँ, ‘भगवान्को भजन गरेर मात्र सबै कुरा पाइन्छ भन्ने कुरामा म विश्वास गर्दिन । मन्दिर धाएर मात्र धर्म पाइन्छ भन्ने पनि मलाई लाग्दैन । तर मेरा आमा–बाले सिकाएको संस्कारअनुसारको सामान्य पूजा त म पनि गर्छु । विभिन्न धार्मिक कार्यक्रममा पनि जान्छु । तर धर्मको नाममा अनैतिक कार्य गर्ने फटाहा बाबाहरुको भने विरोध गर्छु ।’

निशा नामकी एक कर्मचारीचाहिँ मैले लगेको ‘प्रसाद’ खान आइनन् । मैले उनी व्यस्त होलिन् भनेर उनको भाग छुट्याएर राखिदिएँ । भोलिपल्ट अफिस जाँदा त त्यो प्रसाद त्यहीँ रहेछ । निशाले प्रसाद खान बिर्सिन कि क्या हो ? भनेर सोधेँ । निशाको साथीहरुले भने, ‘होइन, उनी त क्रिश्चियन भइन्, परमेश्वरलाई प्रार्थना गर्छिन् । त्यसैले उनी प्रसाद पनि खान्नन् ।’

म निशाको धार्मिक मतान्धता देखेर छक्क परँे, दिक्क पनि भएँ । किनभने मेरा अमेरिका, युरोप, भारत र नेपालमा थुप्रै विदेशी क्रिश्चियन, मुस्लिम साथीहरु छन् । तर मेरोे घरमा पूजामा बोलाएको बेला उनीहरु आउँछन्, भोजन गर्छन् । तिमीहरू हिन्दू हौ, तिम्रो पूजाको प्रसाद मैले खानुहुन्न भनेर कसैले आजसम्म भनेका छैनन् । तर जडसूत्रवादी, धार्मिक मतान्धता भएका, धर्मको वास्तविक अर्थ नजानेका, धर्म परिवर्तन गरेर अर्को धर्ममा लागेपछि जीवनमा सुख बर्सिन्छ भन्ने ‘मूर्खतापूर्ण’ विचार भएका व्यक्ति वा धार्मिक गुरुहरुले ‘तिमीहरुले अरु धर्म मान्नेहरुको पूजामा गएर प्रसाद खायौ भने पाप लाग्छ’ भनेर सिकाइएका व्यक्तिहरुचाहिँ यसरी अन्य धर्मलाई अपहेलना गर्ने हुन्छन् ।

म धर्म र सस्कारले हिन्दू हुँ तर म त मस्जिद, गिर्जाघर, मन्दिर सबैमा जान्छु । २५ डिसेम्बरमा क्रिसमस मनाएपछि कसैले भजनमा आउन आग्रह गरे भने म जान्छु, भजनमा भाग लिन्छु । म आउँदिन भनेर कहिल्यै भन्दिन ।त्यसै गरी मुस्लिमहरूको ‘इद’मा मलाई बोलाउने साथीहरूको घरमा गएर ‘सेबई’ पनि मीठो मानेर खान्छु । मस्जिदमा गएर शिर झुकाउँछु । गिर्जाघरमा गएर बत्ती बाल्छु । पाकिस्तान, अफगानिस्तान र इरानमा मेरा मुस्लिम साथीकहाँ गएँ । यसरी विभिन्न धर्मका धार्मिक स्थलमा जाँदा मैले आफूलाई सहज नै मान्छु । यी ठाउँमा गएर मैले आफ्नो धर्मको अपहेलना गरेको जस्तो महसुस हुँदैन ।

हिन्दू धर्मको दर्शनले ‘सबै मानिस बराबर हुन्, सबैलाई सम्मान गर्नुपर्छ’ भनेर मलाई सिकाएको छ । त्यो सिकाइप्रति म गर्व गर्छु । मेरी ८४ वर्षीया आमाले कहिल्यै पनि मेरा साथीहरू आउँदा कुन धर्मको भनेर सोध्नुभएन । दशैँमा अमेरिकाबाट विदेशी साथीहरू आउँदा उनीहरूलाई टीका लगाएर दक्षिणा र उपहारसमेत दिनुहुन्छ । मेरा साथीहरू पनि दंग पर्छन् । कसैले पनि म टीका लागाउँदिन भन्दैनन् ।

क्रिश्चियन भएर पनि हिन्दू धर्मका विभिन्न धार्मिक संस्कारलाई मन पराउने मेरा साथी टिफेन र पाउलो दम्पतीको पहिलो छोरो नेपालमा नै जन्मियो । उनीहरूलाई न्वारान र पास्नीको बारेमा मैले भनेको थिएँ । त्यसैले उनीहरूको छोरो ६ महिनाको भएपछि टिफेनले मलाई भनिन्, ‘मेरो छोराको पास्नी हिन्दू संस्कारअनुसार तपाईंको घरमा नै गर्छु है ।’

उनका कुरा सुनेर म दंग परेँ । मेरो पुरानो घरको बुइँगलमा पण्डितजीले एक इटालियन श्रीमान् र अमेरिकन श्रीमतीका छोराको हिन्दू धर्मअनुसार पास्नी गराइदिए । आजभन्दा १८ वर्षअघिको यो घटना मलाई अझै पनि याद छ । त्यो बेला पास्नी गरेको ठिटो अहिले बोस्टन कलेजमा पढ्छ । उसको नाम गिमोको हो । त्यो ठिटोको म ‘धर्म आमा’ हुँ र उसको नेपाली नाम कमल हो ।

म अमेरिका जाँदा समय–समयमा ऊसँग भेट भइरहन्छ । दुई वर्षअघि कमल नेपालमा आउँदा हामीसँग भेटघाट भयो । त्यति बेला पुराना कुराहरू सम्झेका थियौं । अहिले पनि हामी इमेलमा कुरा गर्छौं । यसरी क्रिश्चियनले निःशंकोच हिन्दू संस्कार माने तर निशाले ‘क्रिश्चियन’ भएकै कारण हिन्दूहरूको प्रसाद नखाने भनेर मूर्खता देखाइन् । मलाई लाग्यो– ‘धिक्कार रहेछन् ती अनेक धर्मगुरुहरू, जसले निशालाई अरुको धर्मलाई अपमान गर्न सिकाए ।

निशा जनजातिकी हुन् । उनका आमा–बुबा पनि क्रिश्चियन बने रे ! त्यसैले उनीहरूले हिन्दू धार्मिक पर्व मनाउँदैनन् तर क्रिश्चियन पर्वचाहिँ धुमधामसँग मनाउँछन् । मलाई उनी क्रिश्चियन, मुस्लिम जे बने पनि उनको रुचिको कुरा हो भन्ने लाग्छ । तर कतै पनि क्रिश्चियन धर्मको जिसस क्राइस्ट भर्जिन मेरीले अरू धर्मलाई अपमान गर भनेर त पक्कै पनि भनेका छैनन् । कुष्ठरोगीहरुको सेवा गर्ने क्रिश्चियन धर्मकी मदर टेरेसाले कुनै पनि बिरामीलाई हिन्दू, मुस्लिम, क्रिश्चियन भनेर छुट्याइनन् । त्यसै गरी मलाई के लाग्छ भने, सच्चा धार्मिक मान्छेले आफ्नो धर्म मानेर पनि अरुको धर्मलाई सम्मान गर्न सक्छ । क्रिश्चियन गुरुहरूले विभिन्न जातजातिका मानिसलाई क्रिश्चियन बनाउँदा आफ्नो र अरुको धर्मलाई पनि आदर गर्न सिकाउनु बेस हो ।

नेपाल हिन्दू राष्ट्र थियो । अहिले धर्मनिरपेक्ष भएको छ । यस अवसरमा केही धार्मिक गुरुले गरिबी र अज्ञानतामा रुमलिएका मानिसहरूलाई केही लोभ देखाई क्रिश्चियन बनाउने गरेको देखिन्छ । उनीहरुले हिन्दू देवताको मन्दिरमा नजानू, हाम्रो परमेश्वरलाई मात्र मान्नू भन्ने कुरा सिकाएर दिमाग भुटिदिनुभएको जस्तो लाग्छ । हो, हिन्दू धर्ममा अनेकौं विसंगति छन्, अनेक कुसंस्कार पनि छन्, हामी तिनको विरुद्धमा लडिरहेका छौं । तर ‘हिन्दू धर्म ठीक छैन, क्रिश्चियन धर्मका परमेश्वरकहाँ जानुपर्छ’ भनेर म र मेरो परिवारले कहिल्यै भन्ने छैन । हामी त राम, विष्णु, शिव, जिसस, अल्लाह सबैलाई एउटै रुपमा लिन्छौं ।

कतिपय चेपाङ र नेवारहरूलाई क्रिश्चियन बनाइएपछि उनीहरूको संस्कारको जरो नै काटिएर घरको न घाटको भएको देखेका छौं । नेपाल ‘फेरि हिन्दू राष्ट्र हुनुपर्छ’ भन्ने मागसँगै हाम्रो त्यति नै असहमति छ, जति तपाईंहरूले लोभ देखाएर कुनाकाप्चाका दलित र अन्य मानिसलाई क्रिश्चियन बनाउने गरेको कार्यप्रति । यदि क्रिश्चियन पादरीहरूलाई गरिबको माया लाग्छ भने उनीहरूको शिक्षा र स्वास्थ्यमा ध्यान दिऊन् धर्म नै परिवर्तन गराउने काम गर्नुपर्दैन । म पनि मिसनरीबाट सञ्चालित महेन्द्र भवन स्कूलमा पढेँ । त्यो स्कूलको अनुशासन र शिक्षाले मलाई आज सम्मानसँग बाँच्न सिकाएको छ । तर त्यो स्कूलले मलाई ‘क्रिश्चियन बन र चर्च जाऊ, आफ्नो हिन्दू धर्म त्याग’ भनेर सिकाएन, बरु टिफेन र पाउलोजस्ता क्रिश्चियनले बच्चाको पास्नी गर्न चाहँदा मैले खुशीसाथ स्वीकार गर्नुपर्छ भनेर सिकायो । अनि किन नव–क्रिश्चियनलाई ‘प्रसाद नखानू’ भनेर सिकाउने ? ‘प्रसाद नखाऊ’ भन्ने के साँच्चिकै इशुका अनुयायी हुन् ?

प्रतिक्रिया दिनुहोस्