युवाका साथ साथ आवाजले पायो देवेन्द्र आचार्यको अध्यक्षमा नयाँ नेतृत्व



पुष्कर बुढाथोकी,भक्तपुर ।

युवाका साथ साथ आवाज नेपालको दोस्रो अधिवेशनबाट दुई वर्षिय कार्यकालको लागि सर्वसहमत रुपमा कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको अध्यक्षमा देवेन्द्र आचार्य,उपाध्यक्ष अमर शिवाकोटी,सचिव श्रीकृष्ण थापा,कोषाध्यक्ष आस्मा बस्नेत, कार्यसमिति समिति सदस्य आस्था बस्नेत,रविन थापा र सोना तचामो चयन भएका छन् ।

यस अघि भएको उद्घाटन सत्रमा बोल्दै बागमति प्रदेश सभा सदस्य शशीजङ्ग थापाले युवा नेतृत्व विकास र परिचालन, युवा उद्यमशिलता प्रबर्दन र स्वरोजगारमा युवाहरुलाई जोड्दै समाज विकासको निम्ति अझै सशक्त ढंगले अगाडि बढ्नु पर्ने बताउनुभयो । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले युवा जागे मात्र देश र समाजमा रुपान्तरण सम्भावना हुने र अब राजनीति रुपमा मात्र युवाहरुलाई प्रयोग गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सुर्यविनायक नगरपालिका वडा नं.७ का वडा अध्यक्ष रविन्द्र सापकोटा ,नेपाल पत्रकार महांसघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, सुर्यविनायक नपा र चाँगुनारायण नपाका कार्यपालिका सदस्य दिपक विसुन्के र कृष्णा कार्की, कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापा, एन प्याप्सन भक्तपुरका अध्यक्ष संजय खड्का, संस्थाका संस्थापक द्वय विनोद खत्री र दिपेश बिसुङ्के लगायतले युवा नेतृत्व विकासको निम्ति आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

संस्थाका निबर्तमान अध्यक्ष राजेश घिमिरको अध्यक्षतामा भएको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सदस्य आस्मा बस्नेतले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम सञ्चालन समेत रहेका संस्थाका सचिव श्रीकृष्ण थापाले साधारणसभाले सर्वसम्मत रुपमा बार्षिक र आर्थिक प्रतिबेदन पारित गर्नुका साथै नयाँ कार्य समिति चयन गरेको जानकारी दिनुभयो । भक्तपुर जिल्लामा विसं. २०७४ सालमा बालक्लबका पुर्वसदस्यहरुले स्थापना गरेको युवा संस्थाले स्थापना काल देखि महिला बालबालिका र युवाको क्षेत्रमा वकालत र पैरवी गर्दै युवा नेतृत्व विकास र परिचालनमा जोड दिदैँ आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्