सहुलियत योजना कार्यान्वयन नभएको व्यवसायीको गुनासो



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुर चेम्बर अफ कमर्सले कोरोना महामारीले थला परेको व्यवसायलाई माथि उकास्न मौद्रिक नीतिमार्फत सहुलियत दिने योजना कार्यान्वयन नभएकोमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । चेम्बर अफ कमर्सको शनिबार पहिलो वार्षिक साधारण सभामा अध्यक्ष पुष्परत्न शाक्यले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष सो ध्यानाकर्षण गराउनुभएको हो।

‘मौद्रिक नीतिमार्फत सहुलियत दिने निर्णय दस्तावेजमा नै सीमित भइरहेको छ । निर्णय कार्यान्वयन नहुँदा त्यस नीतिबाट व्यवसायीले लाभ पाउन सकिरहेको छैनन् ।’ अध्यक्ष शाक्यले भन्नुभयो–‘बैकमा लिइएको कर्जाको तीन महिनाको ब्याज मिनाह गर्ने, भन्सारका सामानको मूल्याकंंन दर रेट कम गर्ने, घोषित पुर्नकर्जा लिन प्रक्रियागत झन्झटलगायत नेपाल राष्ट्र बैंकले तोकेको अनेक सुविधाबाट व्यवसायी बञ्चित भएका छन् ।

यसबारे अर्थ मन्त्रालयको ध्यान जाओस् ।’ अध्यक्ष शाक्यले भन्नुभयो। अनुगमनको नाममा व्यवसायीलाई राज्यले दुःख दिने गरेको बताउँदै अध्यक्ष शाक्यले व्यवसायीलाई आतंकित पार्ने, मनोविज्ञानमा नकारात्मक असर पु-याउने काम बन्द गर्न माग गर्नुभयो ।

ललितपुरमा अन्तरनिहित आर्थिक सम्भावनालाई मूर्त रूप दिन राज्यको ध्यान जानुपर्नेमा जोड दिँदै अध्यक्ष शाक्यले भन्नुभयो–‘राज्यको ध्यान नपुग्दा संस्कृति संरक्षणलाई पर्यटन उद्योगस“ग जोडिएर अघि बढाउने, हस्तकला शहरको रुपमा विकास गर्ने, दक्षिण ललितपुरमा कृषि र रोमाञ्चकारी पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने लगायत सम्भावनाले मूर्तरूप मूर्त रूप लिन पाएका छैनन् ।’

सो अवसरमा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्सले उठाएको विषयमा निरन्तर छलफल गर्दै मुलुकको आर्थिक विकासको लागि सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो–‘व्यवसायीले उठाएका मुद्दा र सवाल गम्भीर छ । यसको कार्यान्वयनको लागि निरन्तर छलफल गरेर अघि बढ्न सरकार छ ।

सहकार्यको लागि अर्थ मन्त्रालयको ढोका सधैं खुल्ला छ ।’ अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिन खोप निर्यात गर्न सरकारको तयारी अन्तिम चरणमा पुगेको बताउँदै यसका लागि निश्चित आकारको बजेट विनियोजित गरिसकेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारे अनुरुप शान्ति सुरक्षा, लगानीमैत्री वातावरणको सुनिश्चितता नबनेको र पछिल्लोपटक कोरोनाले गर्दा अधिकांश व्यवसाय धराशयी भएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले समाजप्रति उत्तरदायित्वको भावनाले व्यवसायीहरु अघि बढ्नुपर्ने बताउँदै राज्यले गर्ने अनुगमनलाई स्वस्थ्य र व्यवसायीको विकासको उद्देश्यले हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष महर्जनले जनताको स्वास्थ्य, गुणस्तरीयता र जनहितको सवालमा सम्झौता गरेर व्यवसायीहरु नाफामुखी हुन नहुने पनि धारणा राख्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला, वरिष्ठ उपाध्यक्ष निरु थापा, महासचिव सुविन बज्राचार्यलगायतले चेम्बर अफ कमर्सले निर्वाह गर्दै आएको विविध भूमिकामा केन्द्रित गर्दै आफ्ना भनाइ राख्नुभयो । यसैबीच साधारण सभाले पुष्परत्न शाक्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी तीन वर्षका लागि सो कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यमा निरु थापा, उपाध्यक्षमा राजेन्द्रमान कायष्ठ, द्वितीय उपाध्यक्षमा अनिलवीर बज्राचार्य, महासचिवमा सुविन बज्राचार्य र कोषाध्यक्षमा नरेन्द्र शाक्य, सचिवमा हरिहर अधिकारी र सहकोषाध्यक्षमा प्रेमलाल महर्जन रहनुभएको छ ।

त्यस्तै कार्यकारिणी सदस्यहरु तेजेन्द्रगोपाल श्रेष्ठ, वीरेन्द्र शाक्य, ऋषिकेश तिमल्सिना, रामचन्द्र क्षेत्री, श्याम तण्डुकार, सुनिता बज्राचार्य, सुमित्रा खड्का, अविनाश कार्की, सविता सिंह, प्रवीणबहादुर शाक्य, अभिषेकराज बज्राचार्य, हरेराम जोशी र हेमकिशोर हुनुुहुन्छ । सोही सभाले सविता सिंहको संयोजकत्वमा महिला चेम्बर र प्रवीणबहादुर शाक्यको संयोजकत्वमा युथचेम्बर अफ कमर्स गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्