‘देउवाको ढुलमुले चरित्रका कारण कांग्रेस कमजोर’



नेपाल समाचारपत्र, विराटनगर ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रका कारण कांग्रेसले ‘प्रतिगमनको विरोध’ मा सशक्त भूमिका खेल्न नसकेको आरोप लगाउनुभएको छ । शनिबार विराटनगरमा आयोजित मानव अधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

नेता कोइरालाले केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस एकढिक्का भएर सशक्तरूपमा आन्दोलनमा जानुपर्ने बताउनुभएको छ । मुख्य प्रतिपक्षी दल भएर कांग्रेसले पनि खेल्नुपर्ने जति भूमिका सशक्त ढंगले निभाउन नसक्दा संघीयता र गणतन्त्र खतरामा पर्ने सम्भावना बढेको कोइरालाले बताए ।

प्रचण्ड र माधवसँग बदला लिन र वैशाखमा चुनाव गराउन यो प्रतिगमन नभएको भन्दै नेता कोइरालाले संसद् विघटन गर्नुको पछाडि गहिरो षड्यन्त्र रहेको दाबी गर्नुभयो । अब कांग्रेसले अदालतको फैसलालाई नपर्खी प्रस्ट भएर आन्दोलनमा जानुपर्ने बताउँदै डा. कोइरालाले कांग्रेस सभापति देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नोबोल्न पार्टीमा रुलिङ गरेकोसमेत बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपाका प्रचण्ड–माधव समूहसँगै नेपाली कांग्रेसको नेतृत्व पनि दोषी रहेको टिप्पणी गर्नुभयो । डा. कोइरालाले सभापति शेरबहादुरलाई लक्षित गर्दै भन्नुभयो– शेरबहादुरजी पनि ओलीजी जस्तै व्यक्तिगत स्वार्थमा लोभिनुभयो, यसैले शुरुदेखि नै खेल्नुपर्ने जति भूमिका कांग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन ।

ओलीलाई स्वेच्छाचारी र अराजक बनाउन माधवकुमार नेपाल र प्रचण्डको पनि भूमिका रहेको छ ।’ मैले जे बोलें त्यही हो संविधान र कानुन भन्ने ओलीको मनशाय नेपाली जनताले नस्वीकार्ने कोइरालाले स्पष्ट पार्नुभयो । मानवअधिकारवादी नेता कृष्ण पहाडीले अदालतले संसद् पुनःस्थापनाको निर्णय गरे हाल देखिएको आधा समस्या समाधान हुने बताउनुभयो । अदालतले फोहोर नखाए संसद् पुनःस्थापना हुने पहाडीको दाबी छ ।

्उरहाँले संविधानविपरीतको काम गरेर प्रधानमन्त्रीले दलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको आरोप लगाउनुभयो । पार्टीका नेता, कार्यकर्ताले काम गर्न नदिएपछि र दलभित्र किचलो भएपछि प्रतिनिधिसभा विघटन गरेको अभिव्यक्ति दिएर प्रधानमन्त्रीले बहुदलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको पहाडीको आरोप छ ।

कार्यक्रममा प्रदेश–१ का पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टी प्रदेश–१ का संसदीय दलका नेता जयराम यादव, मानवअधिकारवादी सोमराज थापा, महेन्द्र सिटौला, पत्रकार गणेश लम्साललगायतले प्रधानमन्त्रीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले सच्याएर नेपालको राजनीतिलाई सही ट्रयाकमा ल्याउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्