शक्ति, सत्ता र पदका कारण पार्टी विभाजनमा



  • सूर्यप्रसाद गैह्रे (पारस)
    अध्यक्ष
    नेपाल कम्युनिस्ट पार्टी, स्याङ्जा

नेकपा पार्टीभित्रको अन्तरकलहका कारणले गर्दा मुलुक अहिले अनिर्णयको बन्दी बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाखमा निर्वाचनको तिथि घोषणा भएसँगै विवादले उच्च रूप लिएको हो । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेकपाको अर्को पक्ष प्रचण्ड–नेपाल गुटसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतले प्रतिनिधिसभा विघटनको विरोध गर्दै सडक आन्दोलन गरिरहेको छ । नेकपा ओली समूहबाहेक अन्य सबै दलहरू विकल्प भनेको प्रतिनिधिसभा पुनःस्थापना भनिरहेका छन् । यसै सन्दर्भमा नेकपा स्याङ्जाका अध्यक्ष एवं ओली निकट समूहका केन्द्रीय सदस्य युवा नेता सूर्यप्रसाद गैह्रे ‘पारस’ सँग देशको वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका स्याङ्जा संवाददाता अमृत अर्यालले गरेको कुराकानीको सारसंक्षेप :

तपाईंको पार्टी नेकपाको पछिल्लो राजनीतिक घट्ना क्रमलाई कसरी हेर्नुभएको छ ?

कुनै पनि सजीव राजनैतिक पार्टीमा निरन्तर अन्तरविरोध भइरहन्छ । वर्तमान परिस्थितिमा नेपालका सबैजसो राजनीतिक पार्टी अन्तरविरोधको माध्यमबाट गुज्रिरहेका छन् । सामान्यतया विचार र राजनीतिका रूपमा हुने अन्तरसंघर्षले सम्पूर्ण पार्टी, देश र जनतालाई फाइदा पु-याउँछ ।

तर, पछिल्लो समयमा राजनीतिक दलहरुमा राजनीति जनता र राष्ट्र केन्द्रित भन्दा पनि शक्ति, सत्ता र पद प्राप्तिको निम्ति अन्तरसंघर्ष बढेर गएको देखिन्छ । हाम्रो पार्टीमा पनि करिब १ वर्षयता शक्ति बाँडफाँडको विषयले पार्टीलाई विभाजनको दिशातर्फ लैजाँदै छ । निहित स्वार्थपूर्तिका लागि गुट निर्माण गर्ने र त्यसलाई विचारको रूपमा संश्लेषण गर्ने प्रवृत्तिले कसैलाई पनि हित गर्दैन । नेताहरुले यस्तो गलत प्रवृतिलाई त्यागेर पार्टी एकताको पक्षमा उभिन जरुरी छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्न सकेन भन्ने आरोपलाई कसरी हेर्नुभएको छ ?

पहिलो, आरोपका लागि आरोप होइन । आरोपहरु तथ्य र प्रमाणमा आधारित हुनुपर्दछ । यही सरकारको समयमा विगतका सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरुको तीव्र गतिमा काम भएका छन् । धेरै ठूला प्रोजेक्टको शुरुआत भएको छ । भौतिक पूर्वाधार विकासको क्षेत्रमा विद्युतीय रेलमार्ग, सुरुङमार्ग र द्रुतमार्ग, पुनर्निर्माण, विमानस्थलहरुको निर्माण तथा विस्तार, स्थानीय तहसम्म अस्पताल निर्माण गर्नेलगायतका कामहरु भइरहेका छन् ।

अधिक प्रकारका औषधि र उपचारमा निःशुल्क सेवा, स्थानीयस्तरसम्म प्राविधिक शिक्षा, सामाजिक सुरक्षामा दायित्वको विस्तार, सरकारी तथा सार्वजनिक भूमि तथा सम्पत्तिको खोजी तथा सुरक्षालगायतका कार्यक्रम सरकारले प्रभावकारीरूपमा सञ्चालन गरिरहेको छ ।

देशको नयाँ नक्साको प्रकाशन र सगरमाथाको नया उचाइ मापन गर्ने ऐतिहासिक तथा गौरवपूर्ण कार्यलाई सरकारले सफलतापूर्वक सम्पादन गरेको छ । दोस्रो सरकारले गरेका कामहरुलाई विगतको सरकारले गरेका कामहरुसँग पनि तुलना गरेर अध्ययन गर्नुपर्ने हुन्छ । त्यसो गर्न सकियो भने जोसुकैले पनि आफैं तथ्यांकीय हिसावले अध्ययन तथा मूल्यांकन गर्न सक्दछन् ।

तेस्रो, सरकारले जनचाहना अनुरूप काम कति ग-यो कति गरेन भन्ने विषय हुन सक्छ । सरकारको नेतृत्व गरेको पार्टीभित्र सरकार निर्माणको चरणदेखि नै शुरुआत भएको अन्तरविरोधले गर्दा सरकारको ध्यान केन्द्रिकृत नतिजामुखि काममा जान नपाएका कारणले पनि जनअपेक्षाअनुसार सरकारले काम गर्ने वातावरण हुन सकेन ।

दुई तिहाइको बहुमतलाई व्यवस्थापन गर्न अहिलेको नेतृत्व किन असफल भयो ?

नेपाली राजनीति एउटा गम्भीर चक्रमा घुमिरहे जस्तै देखिन्छ । व्यवस्थामा भएको खराबीका विरुद्धमा नेतृत्वले आन्दोलन उठान गर्न सक्ने, एक हदसम्मको सफलता पनि प्राप्त गर्ने तर त्यसको दिगो व्यवस्थापन गर्न नसक्ने र फेरि अस्थिरताको शुरुआत हुने जस्ता समस्या बीपी, गिरिजा, प्रचण्ड र अहिले प्रधानमन्त्री ओलीसम्म आउँदा दोहोरिन आएको जस्तो देखिएको छ ।

बीपीले आफ्नै नेतृत्वमा प्राप्त उपलब्धि विविध कारणले गुमाउनुपरेको थियो । ०४६ सालमा कांग्रेस–वाम गठबन्धनमा आएको राजनैतिक परिवर्तनलाई संस्थागत गर्ने सम्बन्धमा तत्कालीन नेतृत्वको तुलनात्मक सक्षमतामा प्रश्न उठाउने ठाउँहरु पर्याप्त देखिन्छन् ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय शक्ति सन्तुलनको आधारमा १० वर्षे सशस्त्र जनयुद्धको कुशल नेतृत्व गरेर आएको नेतृत्व प्रचण्डले त्यसको व्यवस्थापनमा कुशलता प्रदर्शन गर्न नसकेको यथार्थ हाम्रासामु आज पनि छ । त्यस्तै ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा बृहत् पार्टी निर्माण र दुई तिहाइ मत प्राप्त गर्न सफल भएको नेतृत्वलाई फेरि विविध ढंगले घेराबन्दी गरेर असफल तुल्याउन खोजिँदै छ । राजनीति अरू खेलजस्तै पूर्वघोषित नियमहरुमा आधारित नभएर क्षणिक मार्गहरु हुँदै गुज्रिने एक प्रकारको खेल हो ।

यो खेल सधैं नै वर्गीय हितमा आधारित हुने गर्छ । अहिले नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा ‘समृद्धि र सुख’ को मोर्चा सम्हाल्नुभएको छ । यसलाई फरक वर्गपक्षको धरातलमा रहनेहरुले असफल बनाउने हर प्रयत्न गरिरहेका छन् । सरकार असफल भइसकेको होइन, सरकारलाई जनताको साथ र भरोसा छ, तर लडाइँ पेचिलो र निरन्तर छ ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई काम गर्न दिएनन् भन्ने तपाईंको भनाइ हो ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको अभियानमा आदरणीय नेता ओली, प्रचण्ड, माधव, झलनाथ, वामदेवलगायतको अतुलनीय योगदान छ । उहाँहरुकै नेतृत्वमा प्राप्त उपलब्धिको रक्षा र विकासमा आज उहाँहरु गम्भीर हुनुभएन कि भन्ने हाम्रो आशंका हो ।

नेपाली जनताले नयाँ संविधानको कार्यान्वयन र समाजवाद उन्मुख व्यवस्थाको सफलतापूर्वक निर्माणका लागि प्रदान गरेको अधिकारलाई उहाँहरुले सदुपयोग गर्न चाहनुभएन वा सक्नुभएन । हामीमाझ अहिले गम्भीर प्रश्नहरु छन् । सरकार स्थापनाको ३ वर्षसम्म उहाँहरुले कसरी घोषणापत्रलाई कार्यान्वयन गर्ने र व्यवस्थालाई संविधानअनुसार समाजवाद तर्फ डो¥याउने भन्ने भूमिका निर्वाह गरेको हामीलाई महसुस हुन सकेन ।

बरु उहाँहरुको नेतृत्वमा शुरुआत र विकास भएको अन्तरसंघर्ष समूहगत र व्याक्तिगत स्वार्थमा बढी केन्द्रित भएको देखियो । जहाँनेर पार्टी र सरकारले कम समय खर्च गर्नुपर्दथ्यो सोही ठाउँमा बढी खर्च गरेको कुरा छर्लंगै छ । सरकारले उचित समयमा निश्चित गरिएको लक्ष्य हासिल गर्न नसक्नुमा पार्टीभित्र विकास भएको गुटगत संघर्षको महत्वपूर्ण भूमिका रहेको कुरा सत्य हो । जसको नेतृत्व प्रचण्ड–माधवले गर्नुभएको छ ।

प्रचण्ड–नेपाल समूहले त प्रधानमन्त्री ओलीको पुरानो शैली र ढर्राले मुलुकमा प्रगति हुँदैन भन्ने निष्कर्ष निकालेको छ नि ?

पार्टीमा व्याक्तिगत तथा समूहगत स्वार्थको विकास गर्ने, फरक पक्षसँग बार्गेनिङ गर्ने र स्वार्थ पूरा नगर्ने अवस्था आएपछि अप्राकृतिकरूपमा विचार समूहको विकास गर्ने कुरा नेपाली राजनीतिमा इतिहासदेखिकै समस्या हो । व्याक्तिहरुका भिन्न–भिन्न विरासत, प्रस्तुति शैली र प्रवृत्ति हुन सक्छन्, यो सामान्य विषय हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले उपलब्धिको रक्षा र विकास गर्ने विषयमा उच्च प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक नीति, योजना र कार्यान्वयनलाई पनि अगाडि बढाउनुभएकाले त्यो निष्कर्ष वैज्ञानिक एवं यथार्थपरक छैन ।

अहिले राष्ट्रिय राजनीतिमा नेकपाको छवि घटेको हो ?

नेकपाभित्रको अन्तरविरोधले राष्ट्रिय राजनीतिक बहसमा शिर्ष स्थान ओगटेको छ । तर, सरकारले आफ्नो कार्यक्रमलाई निरन्तररूपमा अगाडि बढाइरहेको छ । सरकार आफ्नो कर्तव्य र उत्तरदायित्वबाट पछि हटेको छैन । त्यसैले सरकार र नेकपाको पक्षमा जनताको उत्तिकै समर्थन र लोकप्रियता कायमै छ ।

सरकारले अन्तर्राष्ट्रिय जगत्मा विगतको तुलनामा स्वाभिमानी एवं क्रियात्मक दौत्य सम्बन्धको विस्तार तीव्र गतिमा गरेको छ । त्यसैले अन्तर्राष्ट्रिय कोणबाट हेर्दा पनि नेकपाको छवि घट्ने भन्दा बढ्न गएको तथ्यांकले देखाएको छ ।

वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा आम नेपाली युवाको महत्वपूर्ण भूमिका थियो । आज नेकपाको विभाजन प्रक्रियामा युवा नेतृत्वको पनि विभाजन भएको देखिन्छ । विभाजनको स्थितिमा पुगेको युवा शक्तिलाई के भन्नुहुन्छ ?

कुनै पनि देशको राजनीतिक व्यवस्था परिवर्तन, राष्ट्रको सुरक्षा र विकासमा युवाको भूमिका अनिवार्य र महत्वपूर्ण हुन्छ । युवाहरु राष्ट्रिय स्वार्थ र जनताको हितमा एकठाउँमा उभिनुपर्छ । किनकि माओको भनाइझैं समाज आज र भोलि पनि युवाको हो । त्यसैले आफ्नो भविष्यको विषयमा युवाले गलत विचार र प्रवृत्तिसँग सम्झौता गर्नुहुँदैन ।

अहिले सरकारले संसद्को अंकगणितको आधारमा पैदा हुन खोजेको राजनीतिक अस्थिरतालाई रोक्नका लागि ताजा जनादेशमा जाने निर्णय गरेको छ । यसको मर्मलाई आत्मसात गर्दै हामी युवाहरुले एकताबद्ध भएर राजनीतिक स्थिरता कायम गरी समृद्ध राष्ट्र निर्माण गर्ने ऐतिहासिक कार्यभार पूरा गर्नुपर्दछ ।

वर्तमान अवस्थामा के नेकपाले जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा स्वीकार गरेको हो ?

नेकपाको अहिलेको विधानअनुरूप यसको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेलिनवाद हो । कम्युनिस्ट पार्टीले गतिशील द्वन्द्ववादलाई स्वीकार्ने हुँदा विचारको हिसाबले रुढीवादी बन्न सक्दैन ।

७० वर्षको नेपाली कम्युनिस्ट आन्दोलनमा निकै सकारात्मक विचार र शिक्षाको विकास भएको छ, त्यही क्रममा स्वर्गीय जननेता मदन भण्डारीले विकास गर्नुभएको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनको एउटा महत्वपूर्ण वैचारिक पुँजी हो । अहिले हाम्रो कार्यदिशा ‘जनताको जनवाद’ हो ।

प्रतिक्रिया दिनुहोस्