प्रियंकाको चाहना क्रिकेट टिम सन्तान



बलिउडसँगै हलिउडमा समेत चर्चा कमाउन सफल अभिनेत्री प्रियंका चोपडा विभिन्न कारणले चर्चामा छाइरहन्छिन्। केही दिनअघि मात्र लन्डनमा कोरोनाको कारण लगाइएको लकडाउन तोडेका कारण चर्चामा आएकी प्रियंका चोपडा अहिले भने एक अन्तर्वार्तामा आफ्नो बेबी प्लानको बारेमा खुलासा गरेका कारण चर्चामा छिन्।

सन्डे टाइम्ससँगको एक अन्तर्वार्ताको क्रममा प्रियंकाले आफू धेरै बच्चाको आमा बन्न चाहेको बताएकी छिन्। प्रियंकाले विवाहपछि आफूलाई आमा बनेको देख्न चाहने र आमा कहिले बन्ने भनेर सोध्ने उनको फ्यानहरुको प्रश्नको सम्बोधन गरेकी छिन्। अन्तर्वार्तामा तपाईं कति ओटा बच्चा जन्माउन चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा प्रियंकाले निकै अचम्मको जवाफ दिएकी छिन्।

जुन जवाफ सुनेर उनको फ्यानहरु हैरान बनेका छन्। प्रियंकाले एउटा या दुईटा होइन ११ बच्चा अर्थात् एक क्रिकेट टिम नै बनाउन चाहेकोे बताएकी छिन्। प्रियंकाले जवाफमा भनेकी छिन्– ‘मलाई बच्चाहरु निकै मन पर्छ। यस कारण म छिट्टै आमा बन्न चाहन्छु। कमसेकम ११ जना बच्चा होस् भन्ने चाहन्छु।’ यो जवाफ दिइरहँदा उनी आफैं निकै जोडले हाँसिरहेकी थिइन्।

११ सन्तान जन्माउने कुरा मजाकमा भने पनि आफूलाई बच्चा मन पर्ने कारण आफ्नो धेरै बच्चा होस् भन्ने चाहेको प्रियंकाले खुलस्त पारेकी छिन्। ३८ वर्षीया प्रिंयकाले सन् २०१८ मा आफूभन्दा १० वर्ष कान्छा गायक निकब जोनसका साथ विवाह गरेकी थिइन्। उक्त अन्तर्वार्तामा प्रियंकाले आफ्नो पतिका बारेमा कुरा गर्दै आफू र आफ्नो पतिको उमेरको फरकका कारण वैवाहिक सम्बन्धमा कुनै फरक नपरेको समेत बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्