कोरोना संक्रमित कैदीलाई मृत्युदण्ड



टेर्रे हटे, (एजेन्सी)

अमेरिकी सरकारले बिहीबार सन् १९९२ मा भर्जिनियाको राजधानीमा भएको हिंसात्मक आक्रमणमा ७ जना व्यक्तिको हत्या गरेको अभियोगमा दोषी ठह-याइएका एकजना लागुऔषध ओसार–प्रसारकर्तालाई मृत्युदण्ड दिएको छ । ५२ जना प्रत्यक्षदर्शीको उपस्थितिमा उनलाई मृत्युदण्ड दिइएको हो ।

कोरोनाबाट ग्रसित कोरी जोहन्सनको मृत्युदण्ड रोक्न उनका वकिलहरूले ठूलो प्रयास गरेका थिए । तिनीहरूले गत महिना मात्र कोरोना भाइरस संक्रमित हुन पुगेका कारण फोक्सोमा क्षति पुगेका जोहन्सनलाई विषाक्त पेन्टोवार्बिटल खोप दिइ“दा असह्य पीडा हुने भन्दै मृत्युदण्ड रोकन आग्रह गरेका थिए ।

१७ वर्षसम्म मृत्युदण्डमा लगाइएको रोक ट्रम्प सरकारले पुनः चालू गरेको थियो । संघीय मृत्युदण्ड शुरू भएयता इन्डियानाको टेर्रे हटे कारगारमा मृत्युदण्ड दिइएका जोहन्सन १२ औं कैदी हुन् । वकिलहरूका अनुसार उनी मानसिकरूपमा पनि निकै अशक्त थिए ।

मृत्युदण्डपछि उनका वकिलहरूले अन्तिम क्षणमा उनले पिज्जा खाएको र स्ट्रेवरी सेक पिएको तर उनको इच्छाबमोजिम उनलाई जेली भरिएको डोनट खान नदिएको बताएका छन् । साथै उनले आफ्नो अपराधप्रति दुःख व्यक्त गर्दै पीडित परिवारहरूसँग क्षमा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्