अमेरिकामा नयाँ कोरोना भाइरस तीव्ररूपमा वृद्धि हुने : सीडीसी



वासिङ्टन, (एजेन्सी)

संयुक्त अधिराज्यमा फेलापरेको अति छिटो संक्रमण हुने नयाँ विकसित रूपको करोना भाइरस आगामी मार्चसम्ममा संयुक्त राज्य अमेरिकामा ठूलो समस्याको रूपमा देखापर्ने अमेरिकी स्वास्थ्यकर्मीहरूले बताएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले केही सातामै अमेरिकामा नयाँ भाइरसको प्रकोप तीव्ररूपमा फैलिने चेतावनी दिएको छ ।

हिउँदे मौसमको कारण यसअघि नै कोभिड–१९ को समस्या अझै जटिल हुँदै गइरहेको अमेरिकाको स्वास्थ्य प्रणालीमा अब अर्को चुनौती थपिने भएको छ । शुक्रबार नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले खोप कार्यक्रमलाई अझै तीव्रता दिने नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेका बेला यो नया“ चेतावनी सार्वजनिक भएको हो ।

बाइडेनले आफ्नो कार्यकालको पहिलो एक सय दिनभित्र १० करोड अमेरिकीलाई कोभिड–१९ विरुद्ध खोप दिन सो योजना पूरा गर्न खोप वितरणमा पनि तीव्रता ल्याउन सरकारको भूमिकालाई अझै सशक्त बनाइने बताएका थिए ।

अमेरिकामा २ करोड ३५ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने मृतकको संख्या करिब ३ लाख ९१ हजार पुगेको छ । अहिले सबैभन्दा बढी क्यालिफोर्निया राज्य कोरोनाको चपेटामा परेको छ । नोभेम्बरयता त्यहाँ मृतकको संख्यामा १ हजारभन्दा बढी प्रतिशत वृद्धि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्