स्थानीय तह सामाजिक सुरक्षा भत्ता वितरणमा अन्योल



दिलकुमार लिम्बु, ताप्लेजुङ ।

ताप्लेजुङको मेरिङदेन र सिदिङवा गाउँपालिका ६० वर्षभन्दा कम उमेरका एकल महिला र शारीरिक अशक्त (ख वर्गका)लाई भत्ता वितरणमा अन्योलमा परेको छ । गत चैतदेखि ६० वर्षभन्दा कम उमेरका एकल महिला र (ख) वर्गका शारीरिक अशक्त व्यक्तिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रोकेको भन्दै राष्ट्रिय अपांगका महासंघ नेपालले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय निवेदन दिएको थियो ।

मेरिङदेन र सिदिङवा गाउँपालिकाले ७ महिनायता ६० वर्षभन्दा कम उमेरका एकल महिला र (ख) वर्गको शारीरिक अशक्तको सामाजिक सुरक्षा वितरण गरेको छैन । ज्येष्ठ नगरिकलाई भत्ता वितरण ग-यो तर ६० भन्दा कम उमेरका एकल महिलालाई नदिएको मेरिङदेन गाउँपालिका १ थिङलाबुका एकल महिला सीता लिम्बुले बताउनुभयो ।

संघीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले संघीय सरकारको निर्देनअनुसार पहिलो चौमासिक भत्ता वितरणमा ६० वर्षभन्दा कम उमेरको एकल महिला र (ख) वर्गसम्मको रोक्का गरेको मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर लिम्बुले बताउनुभयो ।

विभागको के निर्देशन आउँछ त्यसैअनुसार गर्ने लिम्बुले बताउनुभयो । जेष्ठ नगरिकका लागि गत दशैंअगाडि नै वितरण गरेको र ६० भन्दा कम र ख वर्गका शारीरिक अशक्तहरुका लागि रोक्का गरेको सिदिङवा गाउँपालिकाका लेखा अधिकृत वीरेन्द्र सिग्देले बताउनुभयो । बताप्लेजुङ एक नगरपालिकासहित ९ स्थानीय तहमध्ये अन्य पालिकाले भने चौमासिक सबैलाई वितरण गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्