ओलीनिकट नेकपाका युवाले गरे शक्ति प्रदर्शन



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा ओलीनिकटका युवाहरुले काभ्रेको बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थानमा मोटरसाइकल -यालीमार्फत शक्ति प्रदर्शन गरेका छन् । जिल्ला संयोजक विक्रम चौलागार्इं र सहसंयोजक राजकुमार श्रेष्ठ दुवै ओली समूहमा सक्रिय भएपछि जिल्लामा पहिलो पटक शक्ति प्रदर्शन गरेका हुन् ।

राजकुमार पूर्वमाओवादीनिकट वाईसीएलमा आबद्ध थिए भने चौलागार्इं एमालेनिकट युवा संघका अध्यक्ष थिए । शक्ति प्रदर्शनपछि बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले प्रशिक्षणमूलक मन्तब्य राखेका थिए ।
कार्यकर्ता भेलालाई नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पूर्वमन्त्री गोकुल बाँस्कोटाले युवाहरुलाई सशक्तरुपमा उभिन आह्वान गर्नुभयो ।

मुलुक र राष्ट्रको हितका लागि प्रधानमन्त्री केपी ओलीले नाकाबन्दीको सामना गरी एउटा देश निर्भर हुनुपर्ने अवस्थाबाट मुलुकलाई हटाई विकल्पसहितको सम्झौता गरेको स्मरण गराउनुभयो । मुलुक निर्माण, समृद्धि, आत्मसम्मान, प्रगतिको बाटोमा अगाडि बढाउन निर्वाचनको विकल्प नभएको बाँस्कोटाले बताउनुभयो ।

‘प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनन हतार भएको छ, त्यसको आधार के हो? चुनावबाट भाग्ने?’, बाँस्कोटाले भन्नुभयो–‘ब्रह्मनालमा सुताएको शवलाई अस्पताल लगेर ब्युझाउँनु भनेझैं विघटित संसद् पुनस्र्थापना हुनुप¥यो भनेर कराउनुको अर्थ छैन ।’

‘प्रचण्ड र माधव नेपाललाई फेरि प्रधानमन्त्री केका लागि चाहिएको हो? भित्तामा फोटो झुन्ड्याउन कि? अझै सीमा मिचाउन?’, बाँस्कोटाले भन्नुभयो– ‘भित्तामा राष्ट्रपति भएझंै तत्काल प्रधानमन्त्री हुने सपना भित्तामै सीमित हुनेछ ।’नेता बाँस्कोटाले निर्वाचनको तयारीमा जुट्न युवाहरुलाई आह्वान गर्नुभयो । ‘अदालतबाट संविधान संशोधन गर्न पाइँदैन’, नेता बाँस्कोटाले भन्नुभयो–‘संवैधानिक विषयमा फैसला गर्न संवैधानिक इजलासबाटै हो त्यो सर्वाेच्चले निर्णय गरिसक्यो ।

संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ ।’ देशको सीमा रक्षा गर्न, राष्ट्रियता जोगाउन ओली नेतृत्वको सरकारले चालेको कदमको पक्षमा उभिन बाँस्कोटाले आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले वैचारिक संगठन निर्माणमा जोड दिँदै चेतना र योजना भएका युवाहरु तयार गरी मुलुक निर्माणमा लाग्न युवाहरुलाई आह्वान गर्नुभयो । जिल्लाका १ सय ३५ वटा वडा, १३ वटा पालिका, चारवटा प्रदेश कमिटी र दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय कमिटी निर्माण गरी निर्वाचनमा होमिन अध्यक्ष ब्याञ्जुले युवाहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेल, केन्द्रीय सदस्यहरु पूर्वराज्यमन्त्री रेशम लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने, युवा नेताहरु, विद्यार्थी नेताहरु, जिल्लाका नेताहरुको सहभागिता रहेको थियो । अधिकांश वक्ताहरुले संगठनको गठन, पुनर्गठन र आम नागरिकसँग व्यक्त प्रतिबद्धता पूरा गर्दै निर्वाचनको तयारी गर्न अनुरोध गरेका थिए ।
ठाउँ ठाउँमा भेला

नेकपा ओली समूह तथा प्रचण्ड–माधव नेपाल समूहले विभिन्न स्थानमा भेला आयोजना गरेका छन् । दुवै समूहको काठमाडौंमा शनिबार एकैपटक भेला आयोजना गरिएको थियो भने ओली समूहले पनौतीमा युवाहरुको भेला आयोजना गरेको थियो । प्रचण्ड–माधव समूहले नमोबुद्धको भकुण्डेमा भेला आयोजना गरेको थियो ।

कांग्रेसले ग-यो १३ तहमा विरोध सभा

नेपाली कांग्रेसले जिल्लाका १३ वटै स्थानीय तहमा विरोध सभा आयोजना गरेको छ । पनौतीमा गरेको सभालाई नेपाली कांग्रेसका नेता रमेश लेखकले सम्बोधन गर्दै सर्वाेच्च अदालतको फैसला स्वीकार गर्ने बताए । सर्वाेच्च अदालतको जस्तोसुकै फैसला आए पनि स्विकार्ने बताउँदै लेखकले नेपाली कांग्रेस लोकतन्त्रको पक्षपाती भएकाले निर्वाचनमा भाग्न नसक्ने बताए ।

निर्वाचन नगरी धोका भयो भने त्यतिबेला कांग्रेसले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिँदै नेता लेखकले दुवै अवस्थाका लागि तयारीमा रहन अनुरोध गर्नुभयो । बनेपामा आयोजित सभामा केन्द्रीय सदस्य शिव हुमागाईंलगायतका नेताहरुले संसद् विघटन असंवैधानिक भएकाले जनता सचेत हुँदै असंवैधानिक कामको खबरदारी गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्