ओलीमा किन यति अहम् ?



नेपालमा पछिल्लो समयमा राजनीतिक अस्थिरता बढ्दै गएको छ । बिहान आँखा नखुल्दै अनेक परिवर्तन र राजनीतिक खिचातानीका समाचारले मनै विरक्त बनाउँछ । एक्काइसौँ शताब्दीको यो युगमा पनि यसरी दैनिक राजनीतिक अस्थिरताले देशमा व्याप्त समस्याका कारण हामी नेपाली जनताको यो अवस्था देखेर विरक्त लाग्छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली यति बेला अनेक खालका गफ चुट्दै देश दौडाहामा निस्किन्छन् । नेपाली जनतालाई गफैंले उल्लु बनाएका ओली अझै जनतालाई उल्लु बनाउने चक्करमै लागेको देखिन्छ ।

उनी राजनीतिमा अत्यन्त सूक्ष्म खालका फेक न्युजको समेत उद्धृत गर्दै भाषण गर्छन् । तर उनका आसेपासे जोडिएका भ्रष्टाचार काण्डका बारेमा आफू बेखबर रहेको बताउँछन् ।

ओली गुटमुखी नेता भएकै कारण उनी अझै अनेक काण्डमा मुछिएर जनतामाझ आफू लोकप्रिय भएको भ्रममा छन् । उनी आफूलाई जनताको नजरमा हिरो सम्झन्छन्, जसको पछिल्लो उदाहरण हो मध्यावधि निर्वाचन । यस्ता अनेक आत्मरतिमा रमाउने प्रवृत्तिका कारण उनी जनतामाझ हाल झनै अलोकप्रिय बन्दै गएका छन् ।

– सरस्वती नेपाल, काठमाडौं ।

माघी : नेपाली मौलिकताको पर्व

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको शुरूवातको दिन अर्थात् माघ १ गतेको पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्नो परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा संक्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण शुरू हुन्छ भन्ने मान्यता छ ।

उत्तरायणको अवधिमा तुलनात्मकरूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखण्ड (सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।

माघे सङ्क्रान्ति आउनुभन्दा एक–दुई दिनअगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजिकको वनतर्फ लाग्ने मानिसहरूको भीड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सीधा दान गर्नाले पुण्य प्राप्त भई रोगव्याधिबाट मुक्त भइने जनविश्वास पनि छ ।

धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिकरूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ । त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ ।

यद्यपि उपत्यकामा सबै भागका जनताको उपस्थिति पाइन्छ तापनि यहाँका रैथाने भनेका नेवार जनजातिका मानिसहरू हुन् । नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ । नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्छन् । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् ।

बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाइ गर्ने, देवी–देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मीठा–मीठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक–आपसमा दुःख–सुखका गफमा रमाउँदै, भजनकीर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् । यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ ।

तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्तिका दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ । त्यस्तै उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै शुरू भएको अनुमान रहेको यो मेलामा असंख्य भक्तजनको जमघट हुने गर्दछ ।

यस्तै पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ । यस क्षेत्रमा मकर संक्रान्तिलाई चेलित्यार भनिन्छ । चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ । यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याइन्छ । पुस मसान्तको राति तरुल, बाबर (सेलरोटी), पकाएर पहिले कागको लागि छुट्याएपछि घरपरिवारले खाने गरिन्छ ।

राति पानीको मुहान अथवा पँधेरोनजिकै मुढाहरूको थुप्रो बनाएर आगो लगाइन्छ । गाउँका बूढाबूढी, तन्नेरी तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन् । मुढा ताप्ने थलामा रातभर कसैले देउडालगायत विभिन्न नाचगान गर्छन् भने कसैले गाउँ खाने कथा, दन्त्यकथा भनेर रात काट्छन् ।

बिहान भएपछि नुहाएर सबैभन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ । कागलाई बोलाउँदा केटाकेटीहरू ‘कौवा का का, बाबर खा–खा’ भनेर बोलाउँछन् । त्यसपछि दिनमा सेलरोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँड्ने चलन छ । माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर पोइल गइसकेका चेलीहरूलाई पनि पोका पु-याउन जाने चलन छ ।

यदि मकर संक्रान्तिको दिन आफ्नो चेलीलाई पोका दिन सकिएन भने माघको महिनाभित्रै कुनै पनि दिनमा एकपटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पु¥याउने चलन छ । चेलीहरू पनि माघको महिना माइतीहरू आउने बाटो हेर्दछन् ।

यस्तै भारतको कुमाउँमा यस पर्वलाई घुघुतीको त्यार भनिन्छ । घुघुती भनेको एकप्रकारको परिकार हो । गहुँको पीठोलाई गुडको पानीमा मुछेर घुघुती बनाई घाममा सुकाइन्छ । राति घुघुतीलाई तेलमा तारेर पकाइन्छ । यहाँ पनि पश्चिम नेपालजस्तै बिहान कागलाई बोलाएर घुघुती खान दिने चलन छ ।
– सुमन देउवा, धनगढी ।

प्रतिक्रिया दिनुहोस्