एउटै पालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण



नेपाल समाचारपत्र, पर्वत ।

पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण गरेको पाइएको छ । गाउँपालिकाले गठन गरेको अनुगमन समितिले मालढुंगा–बेनी सडकखण्ड र कालीगण्डकी किनारलगायतका क्षेत्रमा बहुमूल्य सार्वजनिक जमिन अतिक्रमण गरी व्यक्तिले प्रयोग गर्दै आएको पाइएको हो ।

गाउँपालिकाले समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो । समितिले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको छ । मालढुंगा–बेनी सडकखण्ड वरिपरिका बजार क्षेत्रमा बढी मात्रामा जग्गा कब्जा गरेको पाइएको गाउँपालिकाका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरिएको सर्वसाधारणले लामो समयदेखि गुनासो गर्दै आएका थिए । ‘सार्वजनिक जमिन अतिक्रमण गरेको लगत तयार गरेका छौं’, सामाजिक विकास अधिकृत सुवेदीले भन्नुभयो– ‘अतिक्रमित जमिन फिर्ता गर्नका लागि गाउँपालिकालाई सिफारिस गरेका छौं।’

जलजला गाउँपालिका–२, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै आएका छन् । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।

‘कतिपय जग्गामा आरसीसी भवनसमेत बनाइएको छ’, उहाँले भन्नुभयो– ‘कसरी हुन्छ त्यसलाई फिर्ता ल्याउने छौं।’ धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको उहाँले जानकारी दिनुभयो । मालढुंगा–बेनी सडकछेउ, मिलनचोक, वारिबेनीलगायत स्थानका सार्वजनिक जग्गामा व्यक्तिले भवन बनाएका छन् ।

यस्ता जग्गा केन्द्र सरकारसँगको समन्वयमा फिर्ता ल्याउने र भाडामा लगाउने, सार्वजनिक आम्दानी लिने गरी उपयोग गर्ने र विपन्नलाई आयआर्जनका लागि उपलब्ध गराउने गाउँपालिकाले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार पहिलो चरणमा भेटिएको जग्गा व्यवस्थापनपछि दोस्रो चरणमा अरु वडाको जग्गा पनि खोजी गरिनेछ ।

‘यो क्षेत्रको जग्गा बढी मूल्यवान् भएकाले पहिलो चरणमा खोजेका हौं’, उहाँले भन्नुभयोे– ‘यसको व्यवस्थापनपछि अरु वडातिर लाग्छौं ।’धेरैजसो सार्वजनिक जग्गा बेवारिसे अवस्थामा भएकाले त्यसको खोजी गरी छिट्टै व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

गाउँपालिकाले आन्तरिक आम्दानी बढाउन सार्वजनिक जग्गामा नगदे बाली लगाउने, उद्योगधन्दा खोल्नेलगायत काममा समेत उपयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कर्मचारी व्यवस्थापन गरिसकेको छ । सार्वजनिक जग्गा भाडामा लिएर खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँसभाको निर्णयअनुसार गाउँपालिकाले बनौं, शालिजा र लेखफाँटमा आलु खेती, माझफाँटमा धान, कोदो र गहुँ उत्पादन, बाँसखर्कमा सुन्तला र अन्य क्षेत्रमा मौसमअनुसार बाली लगाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्