भारतमा विश्वकै सबैभन्दा ठूलो खोप अभियान शुरू



नयाँदिल्ली, (एजेन्सी)

भारतले शनिबार विश्वकै सबैभन्दा ठूलो खोप अभियान शुरू गरेको छ । कोभिड–१९ विरुद्ध पहिलो खोप पाउने भारतीयमा एकजना सरसफाइ कार्यमा संलग्न व्यक्ति भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको यस कार्यक्रमको उद्देश्य १ अर्ब ३० करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्ध खोप दिनु रहेको छ ।

मोदीले खोप पाउने सूचीमा पहिलो स्थानमा रहेका तथा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूको प्रशंसा गरेका छन् । संयुक्त राज्य अमेरिकापछि विश्वमै सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित हुने राष्ट्रमा भारत रहेको छ ।

खोप अभियानको सम्मुखमा अनुमोदित खोप ‘कोभिसिल्ड’ र ‘को–भ्यााक्सिन’ को करोडौं डोज राष्ट्रका विभिन्न भागमा वितरण गरिएको छ । शनिबार बिहान विशेष खोप अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भनेका छन्– ‘हामीले विश्वकै सबैभन्दा ठूलो खोप कार्यक्रम शुरू गरेका छौं ।

यसले विश्वलाई हाम्रो क्षमता देखाउनेछ । भारत एउटा एपको सहयोगले आफ्नो सम्पूर्ण जनसंख्यालाई खोप दिन तयार भएको हो । यस एपले सरकारलाई कोही पनि व्यक्ति अभियानबाट नछुटून् भन्ने सुनिचितता दिन मद्दत गर्नेछ । डाक्टर नर्स र अन्य अग्रमोर्चाका कार्यकर्ताहरूले आफ्ना परिवारबाटै टाढा बसेर अमूल्य मानवीयता प्रदर्शन गर्दै सेवा गरे ।

तीमध्ये सयौं त कहिल्यै घरै फर्कन पाएनन् । तिनीहरूले सेवाका लागि आफ्नै ज्यानसम्म त्यागे । त्यसैकारण, सम्मानस्वरूप तिनीहरूलाई सबैभन्दा पहिले खोप दिइन लागेको हो । ’ यस अभियानमा सरिक एकजना सरकारी अधिकारीले मुलुकमा नयाँ बिहानी उदाएको तथा कोभिडको अन्त्यको शुरुआत भएको भन्दै खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले जनतालाई अझै पनि कोभिड–१९ विरुद्धको सुरक्षा उपायहरू जस्तै – सामाजिक दूरी कायम र मास्क लगाउनने जस्ता कार्यलाई निरन्तरता दिन पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्