कतारमा श्रमिक महिलाको सुरक्षाबारे चासो



न्युज अफ नेपाल, हेटौंडा ।

नेपालबाट रोजगारीका लागि कतार गएका नेपाली श्रमिकसँग दुतावासले श्रमिक सुरक्षा एवम् सचेतनामूलक अन्तरक्रिया गरेको छ ।

नेपाली राजदुतावास दोहा कतारको भवनमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा श्रमिकहरुको हकहित र सुरक्षाबारे छलफल भएको त्यहाँबाट मकवानपुरे पत्रकार अनिल पराजुलीले बताउनुभएको छ ।

कार्यक्रममा कतारका लागि नेपाली राजदुत डा. नारदनाथ भारद्वाजले विभिन्न पेशा, व्यबसायमा आवद्ध भएर कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकले स्थानीय सँस्कृति, धर्म र प्रचलित कानुनमा रहेर काम गर्न आग्रह गर्नुभएको थियो । उहाँले कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कतार सरकारले कोभिड–१९ संक्रमण रोक्न कतार सरकारद्वारा अवलम्बन गरिएका सुरक्षा र सतर्कताका अपनाउनसमेत आग्रह गर्नुभयो ।

राजदुतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्टलगायत कन्सुलर सेवाबारे समेत श्रमिकलाई जानकारी दिएको थियो भने दुतावासले यस विषयमा सहभागीले उठान गरेका विविध जिज्ञासाको जवाफ दिएको थियो ।

कार्यक्रमको उद्धेश्यबारे द्वितीय सचिव भुवन भट्ट, श्रमसँग सम्बन्धित विषयमा श्रम काउन्सिलर कृष्णप्रसाद खनाल, राहदानी तथा ट्राभल डकुमेन्ट सम्बन्धि सेवाबारे द्वितीय सचिव श्रृचा भट्टराईले श्रमिक महिलालाई जानकारी दिनुभएको पत्रकार पराजुलीले बताउनुभएको छ ।
अलडल्ला कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत् ३० नेपाली महिला श्रमिकसँग श्रमिक सुरक्षाबारे छलफल गरिएको हो । वैदेशिक रोजगारीका सिलसिलामा कतार जानुअघि र गएपश्चात् त्यहा“को कानुनअनुसार गर्न हुने र गर्न नहुने कामबारे दुतावासले श्रमिक महिलालाई जानकारी दिएको थियो ।

हाल कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत् रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्