परिवार सदस्यबाटै बलात्कार र यौन दुर्व्यवहार : इन्सेक



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा उपमहानगर–१८, दियावतीकी २५ वर्षीया मीना अधिकारीको हत्या आरोपमा मकवानपुर प्रहरीले उनका पति २९ वर्षीय यज्ञराज अधिकारीलाई पक्राउ गर्‍यो ।

माघ ५ गते विहान घरनजिक खोल्सामा मीनाको शव भेटिएपछि मीनाको माइती पक्षले यज्ञराजले नै हत्या गरेको भनी जिल्ला प्रहरी कार्यालयमा माघ ५ गते मनिकृष्ण न्यौपानेले उजुरी दिएपछि प्रहरीले माघ ५ गते नै घरबाट यज्ञराजलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत मकवानपुरले फागुन ४ गते आरोपित पतिलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । यस वर्षको अन्त्यसम्म मुद्धाको फैसला भएको छैन ।

२६ वर्षीया सुष्मिता केसी ९थापा० को असार १ गते राति हत्या गरेको आरोपमा प्रहरीले सुष्मिताका ससुरा, सासु, नन्द र आमाजुलाई पक्राउ गरेर असार १५ गते सार्वजनिक ग¥यो । प्रहरीले आरोपित ससुरालाई असार ७ गते र सासु, नन्द र आमाजुलाई असार १४ गते पक्राउ गरेको थियो ।

असार १ गते राति भान्सामा बसिरहेकी सुष्मितालाई ससुरा प्रकाशले पछाडिबाट लठ्ठीले हानेर घाइते बनाएको र नन्द सीताले मसला पिस्ने लोहोरोले हानेर हत्या गरेको प्रहरी उपरीक्षक (एसपी) सुशीलसिं राठौरले बताउनुभयो ।

सासु तुलसा थापा पनि घटनास्थलमै थिइन् । जेठी नन्द दुर्गा भने सोही दिन काठमाडौं थिइन् । एसपी राठौरका अनुसार सुष्मितालाई असार १ गते बेलुका नै लठ्ठी र लोहोरोले हानेर मारिएको र असार २ गते विहान ६ः३० बजेमात्र ‘बुहारीले आत्महत्या गरिन्’ भनेर ससुरा प्रकाशले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेपछि प्रहरीले माइती पक्षको समेत रोहबरमा दिउँसो २ बजे घरको मूलढोका खोलेर घटनाबारे अनुसन्धान सुरु गरेको थियो । मृतकको शव असार २ गते हेटौंडा अस्पतालमा पोष्टमार्टम भयो । मृतक सुष्मिताका माइतीपक्षले असार २ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपित ४ जनालाई नै कर्तव्यज्यान शीर्षकमा जिल्ला अदालतमा असार १५ गते मुद्धा दर्ता गरेको थियो । असार २९ गते जिल्ला अदालत मकवानपुरका न्यायाधीश सीता शर्माअधिकारीको एकल इजलासले सुष्मिताको हत्यामा संलग्न आरोपमा ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा, नन्दहरु सीता थापा र दुर्गा थापा गरी ४ अभियुक्तलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो ।

हत्या आरोपित थापाका ज्वाईं अरुण कार्की फरार रहेकोले पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै आरोपित आमा र दुई छोरीलाई पुर्पक्षका लागि चितवन कारागार पठाइएको छ भने बुबालाई भीमफेदी कारागार पठाइएको छ । यस वर्षको अन्त्यसम्म मुद्धाको फैसला भएको छैन ।

५४ वर्षीया भाउजुलाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहानगर–११, स्याउरीका ४१ वर्षीय देवरलाई फागुन २२ गते पक्राउ ग¥यो । आरोपितले फागुन १३ गते साँझ करिब ६ बजे पीडितलाई खाना बनाउँदै गरेको अवस्थामा भान्छामा बलात्कार गरी भागेको भन्दै आरोपीविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय पालुङमा फागुन २२ गते उजुरी दिइन् ।

उजुरीका आधारमा प्रहरीले फागुन २३ गते थाहानगर–३, शिखरकोटबाट अभियुक्तलाई पक्राउ गरेको थियो । प्रहरीले आरोपीविरुद्ध जिल्ला अदालत मकवानपुरमा फागुन २४ गते हाडनाता करणीमा मुद्धा दर्ता गरेको छ ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगर–१६ का ४० वर्षीय बाबुुलाई २०७६ फागुन २४ गते पक्राउ ग¥यो । आरोपी बाबुले राति सुतिरहेको अबस्थामा घरमै बलात्कार गरेको भनी पीडितले बाबुबिरुद्ध २०७६ फागुन २४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइन् ।

प्रहरीले आरोपीविरुद्ध जिल्ला अदालत मकवानपुरमा हाडनाता बलात्कार मुद्धा दर्ता ग¥यो । २०७७ मंसिर ११ गते न्यायाधीश सीता शर्माअधिकारीको एकल इजलासले १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको ठहर गर्दै बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैद सजाय सुनाएको छ ।

चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बागमती गाउँपालिका निवासी १४ वर्षीय किशोरलाई प्रहरीले मंसिर ४ गते पक्राउ गरेको थियो । मंसिर ३ गते बुबाआमासँगै छिमेकीको पूजामा गएकी बालिकालाई बेलुका करिब ८ बजे आरोपीले बलात्कारपछि ढुंगाले हानेर हत्या गरेको एसपी राठौरले बताउनुभयो ।

आरोपीले घर पुर्‍याइदिने भनी बोकेर मनसाही खोलाको बगरमा लगेर बलात्कार गरेको र बलात्कारपछि ढुंगाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी राठौरले बताउनुभयो । आरोपी किशोरलाई हेटौंडा–११, थानाभर्‍याङस्थित बाल सुधारगृहमा राखिएको छ ।
७ वर्षीया बालिकालाई बेचबेखिन गर्न भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले असार ४ गते भारत बिहारकी १४ वर्षकी रानी भनिने ज्योति चौधरीलाई पक्राउ गर्‍यो । बेचबिखन तथा ओसारपसार गर्ने उद्धेश्यले हेटौंडाबाट प्रदेश ३–०३–००१–ह ००६१ नम्बर अटोमा बाराको जितपुरहुँदै भारततर्फ लैजाने क्रममा हेटौंडा–१५ स्थित पूर्वपश्चिम सडकखण्डबाट चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा जिल्ला अदालत मकवानपुरमा असार ५ गते मुद्धा दर्ता ग¥यो । यस वर्षको अन्त्यसम्म मुद्धाको फैसला भएको छैन ।

हेटौंडा–११ की २९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको २०७६ माघ ४ गते राति घाँटीमा तार बेरिएको र अर्धनग्न अवस्थामा हेटौंडा–५, क्याम्पाडाँडामा शव फेला पर्‍यो । मृतक भुजेलको पोष्टमार्टम माघ ७ गते काठमाडौंस्थित टिचिङ हस्पिटलमा भयो ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, २० वर्षीया एलिसा पाख्रिन, वडा–४ का २५ वर्षीय सुशील थापामगर, २४ वर्षीय आशीष बल र २१ वर्षीय बुद्ध लामालाई माघ २१ गते पक्राउ गर्‍यो ।

प्रहरीले उनीहरुविरुद्ध बलात्कारपश्चात् हत्या अभियोगमा जिल्ला अदालत मकवानपुरमा २०७६ माघ २१ गते मुद्धा दर्ता गर्‍यो । प्रहरीका अनुसार ना। ६ ख ६५२७ नम्बर ट्रकका सहचालक परियार र थापामगरले भुजेलसँग हेटौंडा–११, थानाभर्‍याङमा ७ हजार रुपियाँमा यौनसम्पर्क गरी विवाद भएपछि उनीहरुसहित चार जनाले हत्या गरेका थिए ।

हत्या गरेर शव क्याम्पाडाँडामा फालिएको राठौरले बताउनुभयो । जिल्ला अदालतका न्यायाधीश कमलराज बिष्टको फागुन १९ गतेको आदेशले आरोपीहरुलाई पुर्पक्ष थुनामा पठायो भने एलिसालाई १ लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दियो । पाख्रिनले तत्काल १ लाख रुपियाँ धरौटी बुझाउन नसकेपछि उनलाई थुनामा पठाइएको जिल्ला अदालतका स्रेष्तेदार केशवराज कौशिकले बताउनुभयो । घटनाको अन्तिम फैसला भएको छैन ।

यस वर्ष मकवानपुरमा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटनामा अन्य पक्षबाट ६३ जना पीडित भएकोमा ५० महिला, १२ पुरुष र एक लैंगिक तथा अल्पसंख्यक पीडित भए । बालअधिकारका घटनामा १९ बालिका पीडित भएकोमा १२ जना बलात्कार र ६ जना यौन दुव्र्यबहारबाट पीडित र एक नवजात शिशुको हत्या भएको थियो । महिला अधिकारका घटनामा २२ जना बलात्कार, ५ जनाको बलात्कार प्रयास, १ बेचबिखन तथा ओसारपसार प्रयास, परिवारबाट हत्या दुई जना गरी २८ जना पीडित भए ।

यस वर्ष एक जना लैंगिक तथा अल्पसंख्यक महिलाको बलात्कारपछि हत्या भएको इन्सेकमा अभिलेख भएको छ । यस वर्ष परिवारबाट ३ वटा बलात्कार र एउटा यौन दुव्र्यवहारका घटना इन्सेकमा अभिलेख भएको छ ।

जिल्ला अदालत मकवानपुरमा जनवरी २०२० देखि डिसेम्बर २०२० सम्म दर्ता भएका मुद्धाहरुमध्ये यस वर्ष ५ वटाको मात्र फैसला भएको छ । अन्य मुद्धाहरुको यस वर्ष फैसला हुन सकेनन् । आरोपीहरु पुर्पक्ष कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्