विघटन जनभावना विपरितः अध्यक्ष तिम्सिना



पोखरा । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिना प्रधानमन्त्री केपी ओली निकट हुन् । तर ओलीको पछिल्लो कदम उनका लागि प्रिय छैन । भन्छन्–प्रतिनिधिसभा विघटन जनताको चाहनाविपरित छ ।

तर यसका लागि प्रधानमन्त्री दोषी भएको चाहिं उनी ठान्दैनन् । भन्छन् नेपालमा स्थिरता नचाहने तत्वले यस्ता खेल खेल्दो रहेछ ।प्रधानमन्त्री ओलीलाई पनि जनताले दुई तिहाई समर्थनको प्रधानमन्त्री बनाए । तर परिस्थिति भने अस्थिर बन्यो । त्यसैले मध्यावधि निर्वाचनमा जानुपर्ने वाध्यता आइपरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिम्सिनाले भने  अब निर्वाचन मिति घोषणा भइसक्यो । निर्वाचन हुँदैन भन्ने नसोचौं । निर्धारित समयमै निर्वाचन हुन्छ ।

प्रतिनिधिसभा विघटन देश र जनताको हित विपरित भएपनि अव त्यसलाई पुरानै अवस्थामा ल्याउन निर्वाचनको विकल्प नरहेको उनको ठम्याई छ । शाखाको १५ औं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष तिम्सिनाले भने– ०१५ सालमा बीपी कोइरालाको दुईतिहाई प्राप्त पहिलो जननिर्वाचित सरकारसमेत पूर्णकालिक हुन सकेन । राजा महेन्द्रले सरकार मात्र नभई व्यवस्थाकै घाँटी अँठ्याए । त्यस्तै, ०४८ सालको वहुमत प्राप्त गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसमेत मध्यावधिमा जान वाध्य भयो ।

यसरी हेर्दा नेपालमा राजनीतिक स्थिरता कहिल्यै हुन नदिने शक्ति बलवान रहेको देखिन्छ । त्यसैको चपेटामा ओली सरकारसमेत परेको हो उनले भने । तर यो अन्योल र अस्थिरतालाई चिर्न फेरि पनि निर्वाचनमै जानुपर्नेमा अध्यक्ष तिम्सिनाले जोड दिए । उनले भने सर्वोच्च अदालतले यसको छिनोफानो गर्ला नै ,तर सबैखाले अन्योल र अस्थिरताको निकास भने नयाँ निर्वाचन नै हो ।

प्रतिक्रिया दिनुहोस्