धुलिखेलमा भूकम्प, उद्दारमा सेनाको टोली सक्रिय (तस्वीरसहित)



मोतीराम तिमल्सिना, काभ्रे ।

माघ २ गते विहान ८.३० बजे । धुलिखेल नगरपालिकाको सरस्वती बजारमा मान्छेहरुको भिड जम्मा भयो । ५/७ जना ब्यक्तिहरु भुकम्प आयो बचाउ बचाउ भन्दै सडकमा सुतेको दृश्यले बाटोमा हिड्नेहरुको भिड जम्मा भएको थियो । तुरुन्तै एम्बुलेन्स आयो । नेपाली सेनाको टोली, रेडक्रसकर्मी, स्वास्थ्यकर्मीहरुले घाईतेहरुलाई तत्काल उपचारका लागि स्ट्रेचर मार्फत सडक किनारामा पुर्‍याए । अनेक प्रयास असफल भएसँगै एम्बुलेन्समा उपचारका लागि अस्पताल पठाईयो ।

उता घर भित्र अड्किएका विरामीहरुको उद्दारका लागि हेलिकप्टरको आवाजसँगै सेनाको टोली घर भित्र डोरीको सहायतामा प्रवेश गर्छ । डोरीमा झुण्डिएर जोखिमपूर्ण तरिकाले विरामीहरुको उद्धार गरेको कहालिलाग्दो दृश्यबाट सर्वसाधारण आत्तिएका हुन्छन् । सेनाको टोलीले झ्यालबाट स्ट्रेचरमा राखेर विरामीहरुलाई बाहिर निकाल्छन् । केहि विरामीलाई डोरीको सहारामा निकाल्छन् । भुकम्प पछि आत्तिएका परिवारहरुलाई सकुशल उद्धार गर्ने सेनाको साहसिक टोलीलाई सर्वसाधारणले बधाई तथा शुभकामना दिएका थिए ।

विष्णु दल गण धुलिखेलको टोलीले भुकम्प पछिको उद्धारमा कसरी काम गर्ने ? नेपाली सेना, रेडक्रस, स्वास्थ्यकर्मी तथा अन्य निकायको दायित्व र जिम्मेवारीका बारेमा कृत्रिम घटना अभ्यास प्रर्दशन गरेको थियो । १९९०, २०४ र २०७२ सालका भुकम्पहरुले पुर्‍याएको क्षति तथा त्यसबाट बच्न नागरिकहरुले अपनाउनु पर्ने सचेतनाका बारेमा २३ औ भुकम्प सुरक्षा दिवसको अवसर पारी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको टोलीले उक्त प्रर्दशनी गरेको थियो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले भुकम्पबाट बच्न आफुले निर्माण गरेका संरचनाहरु बलिया र भुकम्प प्रतिरोधी हुनु पर्ने बताउनु भयो । पुनर्निर्माणको कार्य भईरहँदा प्रतिरोधी संरचनामा जोड दिए पनि सर्वसाधारणले वेवास्ता गरिरहेको उहाँले बताउनु भयो । सरकारका लागि भन्दा ब्यक्ति स्वंय आफना लागि सुरक्षित संरचना निर्माण गर्नु पर्नेमा केसीले जोड दिनु भयो ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि राष्ट्रिय भवन संहिता निर्माण गरी देशभरका स्थानीय तहमा कार्यान्वयन भईरहेको बताउनु भयो । ब्यक्तिले आफ्नो सहजताका लागि भन्दा पनि भुकम्प तथा अन्य प्राकृतिक प्रकोपसँग बच्न सकिने संरचना निर्माणका लागि नागरिकहरुलाई जनचेतना जगाउँदै त्यस्ता संरचना निर्माणमा नीतिगत ब्यवस्था भएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, रेडक्रसका राजकुमार घिमिरे, शहरी विकास भवन कार्यालयका प्रमुख लगायतले भुकम्प सुरक्षा दिवसको सार्थकता र संरचना निर्माण तथा जनचेतना जगाउनु पर्ने बताउनु भयो ।

नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीले हरेक वर्ष धुलिखेलको सरस्वती बजार तथा जिल्लाका विभिन्न स्थानमा स्थानीय सरकारको सहयोग र समन्वयमा भुकम्प सुरक्षा सम्वन्धी जनचेतना जगाउँदै आएको छ । स्थानीय सरकारहरुले भुकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिईरहेका छन् । सोहि कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सच्युतराज उप्रेति लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्