त्रिशूली नदीको दोभानमा बेलिब्रिज



रसुवा, (नेस)

भौगोलिकरूपले विकट रहेको हाकुका बासिन्दाका सहजताका लागि त्रिशूली नदीको दोभानमा बेलिब्रिज निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ मा बेलिब्रिज अपर त्रिशूली वान २ सय १६ मेगावाट जलविद्युत् आयोजनाले गाउँपालिकासँग समन्वय गरी निर्माण सम्पन्न गरेको हो ।

उक्त बेलिब्रिजको लम्बाई ४० मिटरको रहेको छ । बेलिब्रिज बनेपछि हाकु, नेसिङ र लुमराङबासीका लागि ओहोर–दोहोर गर्न सहज भएको वडाध्यक्ष निमा दिण्डु तामाङले बताउनुभयो । स्थानीय सरकारको पहिलो प्राथमिकतामा सडक निर्माण भएकाले ग्रामीण भेगका स्थानीयको सहजताका लागि सडक विस्तार गरिएको अध्यक्ष बुचुङ तामाङले बताउनुभयो । पुल बनेपछि करिब तीन सय घर लाभान्वित भएका छन् ।

अपर त्रिशूली वानका महानिर्देशक गिरिराज अधिकारीका अनुसार बेलिब्रिजको निर्माणमा ६ करोड ८० लाख रुपियाँ खर्च भएको छ । अगामी वैशाख महिनाभित्र हाकुमा मोटर गुडाउने लक्ष्यसहित हाकबेंसीदेखि ठूलोहाकुसम्म खोलिएका सडक मर्मत गरी अप्ठ्यारो ठाउँहरुमा पर्खाल लगाउने काम थालिसकेको छ । गएको वर्ष खोलेको ग्रामीण सडक सफा गर्ने काम अगाडि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्