विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक



नेपाल समाचारपत्र, म्याग्दी  ।

लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४२औं जन्मजयन्तीको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।

विद्यालयको सिफारिसमा ८ जना विद्यार्थीलाई ज्यामिती बक्स, कापी–कलम र पोशाक तथा ७ जनालाई कापी, पेन्सिल र पोशाक सहयोग गरिएको लायन्स क्लब अफ म्याग्दी दोभानका पूर्वअध्यक्ष गीता रिजाल शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै लायन्स क्लब अफ म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले विद्यार्थीको पढाइमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको बताउनुभयो । लायन्स क्लबहरुले जिल्लाको सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेकाले सोहीअनुसार विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री उपलब्ध गराइएको क्लबका वर्तमान अध्यक्ष शर्मिला थापा बताउनुहुन्छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले विद्यालयको अवस्थाबारे जानकारी गराउँदै जिल्लास्थित विभिन्न संघ–संस्थाको सहयोगमा विद्यालयको विकास र विद्यार्थीको अध्ययनमा सहयोग पुगेको बताउनुभएको थियो । कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा २ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्