समाचारपत्रकर्मीद्वयले गरे पुरस्कार वितरण



नेपाल समाचारपत्र, दोलखा/बागलुङ ।

नेपाल समाचारपत्रका संवाददाताद्वय दोलखाका चिरञ्जीवी मास्के र वागलुङकी सिर्जना पन्तले छुट्टाछट्टै स्थापना गरेका विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान–२०७७ र सिर्जनशील पत्रकारिता पुरस्कार–२०७७ पुरस्कार बिहीबार वितरण गरेका छन् । विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान–२०७७ स्व. बोलबहादुर बस्नेतलाई मरणोपरान्त प्रदान गरिएको छ भने सिर्जनशील पत्रकारिता पुरस्कार–२०७७ मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको हो ।

पत्रकार चिरञ्जीवी मास्केले आफ्ना आमाहरु विष्णुलक्ष्मी श्रेष्ठ (कर्म दिने) र तुलसीमाया मास्के (जन्म दिने) को नाममा स्थापना गर्नुभएको पुरस्कारको राशी १० हजारको रहेको छ । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले स्व. बस्नेतको धर्मपत्नी कुमारी बस्नेतलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक वर्ष प्रकाशन गर्दै आएको प्रदेयको संस्मरण विशेषाङ्कसमेत सार्वजनिक गरिएको थियो । पुस्तकमा २३ जना पत्रकार एवं साहित्यकारको संस्मरण प्रकाशित गरिएको छ ।

त्यसै गरी, सिर्जना पन्त र पत्रकार सन्तोष क्षत्रीले २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट यस वर्ष थकालीलाई सम्मान गरिएको हो । निवर्तमान संघीय सांसद मनकुमारी केसी, आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसी र संस्थापकद्वय पन्त र क्षत्रीले थकालीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । थकाली नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षसमेत हुनुहुन्छ ।

धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार यसअघि पर्वतका सन्तोष थापा, बागलुङका दिल शिरीष, म्याग्दीका सन्तोष गौतम, बागलुङका राम थापा र संगम घर्तीलाई प्रदान गरिसकिएको छ ।

समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गर्नुभएको थियो । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँै आइएको छ । यस वर्षबाट उक्त कोषको रकम १ लाख पु-याइएको संस्थापक सन्तोष क्षत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्