‘प्रचण्ड–नेपाल पक्ष माउसुलीको पुच्छर’



नेपाल समाचारपत्र, विराटनगर ।

नेकपा ओली समूहका नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष माउसुलीको पुच्छर जस्तै भएको बताउनुभएको छ । विराटनगरस्थित नेकपाको पार्टी कार्यालय पाञ्चालीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

नेकपाको माउ पार्टी केपी शर्मा ओलीको नेतृत्वमा रहेको दाबी गर्दै नेता बस्नेतले भन्नुभयो– ‘माउसुलीको शरीरबाट पुच्छर चुँडिएर गएका छन् तर माउसुलीको नयाँ पुच्छर पलाउँछ, छुटेको पुच्छर केही समय चुरीफुरी गरे पनि अन्ततः पुच्छर जीवित रहँदैन ।’ नेकपाको पार्टी शुद्धीकरणका क्रममा स्प्रे गर्दा साङ्ला र लामखुट्टेका रूपमा रहेका प्रचण्ड–माधव नेपाललगायतका नेताले छोडेर गएको नेता बस्नेतको भनाइ छ । उहाँले नेकपाको पक्षमा अहिले पनि जनमत रहेकाले टुटी–फुटी जाने प्रचण्ड र माधव नेपाललगायतका नेताहरुको पक्षमा जनमत नरहेको पनि दाबी गर्नुभयो ।

उहाँले प्रचण्ड–नेपाल नेताहरुप्रति व्यंग्य गर्दै भन्नुभयो– ‘प्रचण्ड–नेपाल समूहका नेताहरुको जनमत अहिले आलु खोजेजस्तो अवस्था छैन, सिला खोज्नुपर्ने अवस्थामा उनीहरुको जनमत छ, तसर्थ निर्वाचनमा जान प्रचण्ड नेपालहरु डराएर भागेका छन् ।’ उहाँले लोकतन्त्रमा जनताको जनमतको कदरका लागि चुनाव नै उत्तम विकल्प भएकाले लोकतन्त्र विश्वास भए प्रचण्ड र नेपाल चुनावमा लागेर विजय हासिल गरेर देखाउन चुनौती समेत दिनुभयो ।

उहाँले लोकतन्त्रको महत्वपूर्ण पक्ष निर्वाचन भए पनि प्रचण्ड–नेपाल पक्ष निर्वाचनबाट भागेको आरोप लगाउनुभएको छ । अबको नेतृत्व आगामी चुनावले तय गर्ने बताउँदै नेता बस्नेतले कांगे्रस र जनता समाजवादी पार्टी चुनावका लागि तयार रहेको र आवश्यक तयारीमा जुटेको स्पष्ट पार्नुभयो । प्रचण्ड र नेपाल पक्ष मात्रै चुनावबाट पन्छिन खोजेको उहाँको भनाइ छ ।

नेकपा एमालेको लिगेसी, भावनासँग जोडिएको सूर्य चिह्नको आडमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामाथि प्रहार गरेको पनि बताउनुभयो । नेता बस्नेतले प्रचण्डलाई सूर्यसँगको माया भन्दा पनि सूर्य चिह्न नभएसम्म जनताले हामीलाई स्वीकार्दैनन् भनेर प्रचण्डले स्वीकार गरेको दाबी गर्नुभयो । नेता बस्नेतले नेकपा अब कुनै पनि हालतमा एकता हुन नसक्ने पनि जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्