माघेसंक्रान्ति मेला लागेन, रिडीमा नुहाउन श्रद्धालुको घुइँचो



अनिल खत्री, गुल्मी ।

ऐतिहासिक क्षेत्र गुल्मीको रूरूस्थित रिडीमा माघेसंक्रान्ति मेला नलागे पनि कालीगण्डकी नदीमा नुहाउनेको भने भीड लागेको छ । रूरू क्षेत्र चार धाममध्येको प्रशिद्ध धार्मिकस्थल हो । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रूरू गाउँपालिकाको रिडीमा माघेसक्रान्तिका अवसरमा गतवर्षहरूमा ठूलो मेला लाग्ने गर्दथ्यो ।

यस वर्ष कोरोना महामारीले गर्दा रिडीमा लाग्ने मेलाका सम्पूर्ण कार्यक्रम नगरिए पनि कालिकगण्डकी क्षेत्रमा स्नान गर्न भने श्रदालु भक्तजन आएको रूरूक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विश्वकर्माले बताउनुभयो । अघिल्ला वर्षहरुमा जस्तै श्रदालुभक्तजनहरु बिहानैदेखि आएको रूरूक्षेत्र ऋषिकेश मन्दिरका पण्डित चूडामणि तिमिल्सिनाको भनाइ छ ।

माघेसक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने जनविश्वास छ ।
माघेसंक्रान्तिमा रिडी गएर नुहाएमा मनोकांक्षा पूरा हुने भक्तजनहरुको भनाइ रहेको छ । संगमस्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ ।

यस क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रूरूक्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । अघिल्ला वर्षहरूमा रिडीमा विशेष गरी कम्मल, काम्ला, राडी पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्री, ओखरका घाँजीलगायतका वस्तुको राम्रो व्यापार हुने गर्दथ्यो ।

व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारीहरु रुकुम रोल्पालगायतका ठाउँबाट आउने गर्दथे । तर, यस वर्ष व्यापारीहरू स्वतःस्फूर्तरूपमा व्यापारका लागि केही व्यापारी आएको स्थानीय सुन्दर कसजु बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्