पर्यटन सेवाका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक



काठमाडौं, (नेस)

टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल)ले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा नेपालका पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल सार्वजनिक गरेको छ ।

कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा। स्टेफेन रोसेक र टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) का संयोजक तथा नेपाल पर्यटन बोर्डका पँर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले एचएचएस प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालिम म्यानुअल गर्नुभयो ।

कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा। स्टेफेन रोसेकले कोभिड–१८ विश्वव्यापी स्वास्थ्य संकटमात्र नभइ आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रको पुनर्बहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भँमिका खेल्ने बताउनुभयो ।

उहाँले जर्मन सहयोग संस्था जीआईजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको चर्चा गर्दै पर्यटनको विकासमा पनि जर्मन सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । डा. रसेकले नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्नका यसले सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको आशालाग्दो पर्यटन गन्तव्यका रुपमा रहेको लुम्बिनी र त्यहाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलसहित एयरपोर्ट र लुम्बिनी प्रदेशमा चलिरहेका अन्य परियोजनाका पर्यटनमा स्वास्थ्य र स्वच्छतासम्बन्धी परियोजना सहायकसिद्ध हुने उहाँको विश्वास थियो । टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक जोशीले कोभिड–१९ पछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाहरूबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीले तालिम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औंल्याएको जानकारी दिनुभयो ।

उहाँले त्यही सर्वेक्षणका आधारमा गेट फाउन्डेसन र जीआईजेडको सहकार्यमा पहिलो चरणमा स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डसम्बन्धी तालिम सञ्चालन गर्न लागिएकोमा खुसी व्यक्त गर्नुभयो । परियोजनाले कोभिड–१९ महामारीपछि सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकहरूका लागि महामारी र महामारीपछिका अवस्थामा पर्यटनसम्बन्धित सेवा तथा व्यवसाय सुचारु राख्नका लागि सरकारद्वारा स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल बनाउने लक्ष्य राखेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा नगरपालिकामा प्रशिक्षकहरू विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार परिएको हो । पाटा नेपाल चेप्टरका कोषाध्यक्ष खेम लकाईका अनुसार स्थानीय तहमा स्थानीय प्रशिक्षक निर्माण गर्दा स्थानीयस्तरमा चाहिएको परिवर्तनलाई सहयोग र पैरवी गर्ने अवसर सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्