ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल



काठमाडौं, (नेस )

ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन नाफा ४ अर्ब १७ करोड रुपियाँ र करपछिको नाफा २ अर्ब ९१ करोड रुपियाँ आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपियाँ पुग्नेछ । सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक स्थापनाकालदेखि नै सरकार एवम् राष्ट्र बैंकद्वारा घोषित नीतिको परिपालनमा कटिबद्ध रहेको बताउनुभयो ।

बैंकले मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई समाहित गरिसकेको जानकारी दिनुभयोे। आर्थिक वर्ष २०७६/७७ मा बैंकको ब्याज आम्दानीतर्फ गत वर्षभन्दा ६ अर्ब ९६ करोड रुपियाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपियाँसम्मको जोखिम व्यवस्थापनवापत रकम छुट्याउनु परेकाले बैंकको खुद मुनाफामा ५ दशमलव ३१ प्रतिशतले वृद्धि भई २ अर्ब ९१ करोड रुपियाँ कायम हुन सकेकोछ ।

हाल बैंकले २ खर्ब ४९ अर्ब रुपियाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपियाँभन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले ७३ जिल्लामा २६४ शाखासहित करिब ८ सय सेवा केन्द्रबाट ३ हजारभन्दा बढी कर्मचारीमार्फत् करिब २२ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साधारण सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।

अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शनकृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दीपक शर्मा पोखरेल (सर्वसाधारण) रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष ढकाललाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्