नेपाल ओपनमा १ हजार ३ सय खेलाडी



काठमाडौं, (नेस)

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ गरी ६ डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षकसमेत रहेका प्रतियोगिता संयोजक नवीनकुमार श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए । इरान, सिरिया र रुवान्डामा अनाथ बालवालिका, हिंसा पीडित र शरणार्थी खेलाडीलाई निःशुल्क खेलाइनेछ । पुम्सेमा ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

कोभिड–१९ को अवस्थामा हरेक उमेरसमूहका खेलाडी चलायमान बनाउने उद्देश्यले प्रतियोगितामा धेरै स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक श्रेष्ठले बताए । पुरुष/महिलामा उत्कृष्ट खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउनेछन् । त्यस्तै, ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिनेछ ।

यो विधाको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिनेछ । दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ६० हजार रुपैया“ खर्च हुने बताइएको छ । प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्