बायर्न तेहेरो उपाधि रक्षा गर्न अक्षम



म्युनिख, (एजेन्सी)

गत सिजनमा तेहेरो उपाधि हात पारेको जर्मन बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिख जर्मन कपको दोस्रो चरणबाट बाहिरिएको छ । डिफेन्डिङ च्याम्पियन बायर्न पेनाल्टी सुटआउटमा जर्मन लिगको दोस्रो श्रेणीको टोली होल्सटिन किइलसँग ६–५ ले हारेको हो । योसँगै बायर्नले जारी सिजनमा तेहेरो उपाधि रक्षा गर्ने योजना पूरै विफल भएको छ ।

गत सिजनमा बायर्नले जर्मन कप, च्याम्पियन्स लिग र जर्मन लिग जितेको थियो । होल्सटिन २०१२ को जर्मन कप विजेता हो ।
निर्धारित र अतिरिक्त समयमा दुवै टिमले २–२ बराबरीमा सकाएका थिए । पेनाल्टी सुटआउटमा होल्सटिनका हाउके वाहल, एहमेट अर्सलान, जानी सर्रा, जाई सुङ सिल, निकलस हउप्टमन र फिन बार्टेल्सले गोल गरेका थिए ।

बायर्नका लागि रोबर्ट लेवान्डोस्की, योसुवा किमिख, थोमस मुलर, डेभिड अल्बा, डुगलस कोस्टाले गोल गरे । तर, मार्क रोकाले गोल गर्न सकेनन् ।यसअघि, बायर्न जितबाट केही सेकेन्डले नजिक थियो । तर, हाउके वाहलले ९० औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

नतिजा निकाल्न पेनाल्टी सुटआउटमा पुग्दा बायर्नविरुद्ध होल्सटिनले बाजी मार्न सफल भयो । बायर्नले खेलमा दुईपटक अग्रता लिएर पनि दुवै पटक अग्रता जोगाउन सकेन । खेलको १४ औें मिनेटमा सर्जग जिनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, ३७औं मिनेटमा फिन बार्टेल्सले गोल गरेपछि खेल १–१ बराबरीमा पुगेको थियो । पहिलो हाफ सोही स्थितिमा समाप्त भएको थियो । त्यसपछि, बायर्नका लागि लिरोए सानेले ४८औं मिनेटमा गोल गरी २–१ को अग्रतामा पु-याए । खेल समाप्तितिर पुग्दा वालले गोल गरिदिएपछि खेल पुन २–२ बराबरीमा पुगेको थियो । पेनाल्टी शुटआउटमा सुरुका १० पेनाल्टी प्रहार गोलमा परिणत भएका थिए ।

तर, होल्सटिनका गोलकिपर लोनीस जेलियोसले मार्क रोटाको प्रहार रोकिदिएका थिए । यसपछि होल्सटिनका भेटेरान खेलाडी बार्टेल्सले विजयी गोल गरेका थिए । योसँगै बायर्न १२ वर्षमा पहिलोपटक जर्मन कपको सेमिफाइनलमा पुग्न असफल भयो । उनीहरूले लिगको तल्लो श्रेणीको क्लबसँग हारेको पनि करिब १७ वर्षपछि थियो । यसअघि २००३/०४ मा जर्मन कपको क्वार्टरफाइनलमा बायर्न दोस्रो श्रेणीको टोली अलेमानिया आचेनसँग २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्