चालु खाता घाटामा शोधनान्तरस्थिति भने १०६ अर्बले बचत



नेपाल समाचारपत्र, काठमाडौं ।

चालु आर्थिक वर्षको पाँच महिना मंसिरसम्मको अवधिमा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालँ खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६ प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१ दशमलव ५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १०६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ ।

त्यस्तै गत असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५ दशमलव २ प्रतिशतले वृद्धि भई मंसिर मसान्तमा १४७४ अर्ब ३४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा मंसिर मसान्तमा ७ दशमलव ७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा मंसिर मसान्तमा ५ दशमलव ९ प्रतिशतले वृद्धि भई १२९८ अर्ब ७२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा मंसिर मसान्तमा शँन्य दशमलव १ प्रतिशतले कमी आई १७५ अर्ब ६२ करोड कायम भएको छ । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्