बार्सिलोना फाइनलमा पुग्न टाइब्रेकरको सहारा



मेड्रिड, (एजेन्सी)

बार्सिलोना टाइब्रेकरमा बाजी मार्दै स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । रियल सोसिडाडमाथि ३–२ को जित निकाल्दै बार्सिलोना जारी सिजनमा पहिलो उपाधिनिकट पुगेको छ । निर्धारित समय १–१ बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बियो र त्यसमा पनि कुनै गोल हुन नसक्दा नतिजा टाइब्रेकरको सहारामा निकाल्नुपरेको थियो ।

पेनाल्टी सुटआउटमा बार्सिलोनाका गोलकिपर मार्क एड्रे टेर स्टेगनले दुई प्रहार बचाएका थिए । यसअघि, खेलको ३९औं मिनेटमा बार्सिलोनाले फ्रेन्की डे जोङको गोलमार्फत् अग्रता लिएको थियो । उनले एन्टोनी ग्रिजम्यानको क्रस बललाई हेड गर्दै गोल गरेका थिए । पहिलो हाफमा बार्सिलोना १–० को अग्रतामा रहेको थियो । दोस्रो हाफमा भने सोसिडाडले एक गोल फर्काएर खेल १–१ बराबरीमा पु-याएको थियो ।

दोस्रो हाफ शुरू भएलगतै बार्सिलोनालाई अग्रता दिलाएका डे जाङले बल हातले छोएपछि सोसिडाडलाई पेनाल्टी प्राप्त भएको थियो । उक्त पेनाल्टी प्रहारलाई मिकेल ओयाराजाबालले गोलमा परिणत गरेका थिए । योस“गै खेल १–१ बराबरीमा पुगेको थियो । त्यसपछि कुनै पनि गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुग्यो तर, त्यो समयमा पनि गोल नभएपछि खेलको टुंगो टाइब्रेकरमा लागेको थियो ।

टाइब्रेकरमा सोसिडाडको लागि पहिलो प्रहार गर्न आएका जोन बाउटिस्टाको प्रहार विपक्षी गोलकिपर स्टेगनले विफल पारिदिए । तर, बार्सिलोनाले पनि पहिलो प्रहार गोलमा परिणत गर्न सकेन । डे जोङको प्रहार पोस्टमा लागेर फर्किएको थियो । सोसिडाडको दोस्रो नम्बरमा आएका ओयाराज्बालको प्रहार पनि स्टेगनले उत्कृष्ट डाइभ गर्दै गोल हुन दिएनन् ।

बार्सिलोनाको लागि ओस्मान डेम्बेलेले दोस्रो प्रहारमा गोल गर्दै अग्रता दिलाए । तर, विलियन जोसेले पोस्टमा प्रहार गरेपछि सोसिडाडको लगातार तेस्रो प्रहार गोल हुन सकेन । मिरालेम प्यानिचले तेस्रो नम्बरमा गोल गर्दै बार्सिलोनालाई २–० ले अघि राखे । मिकेल मेरिनोले चौथो प्रहारमा भने गोल गर्दै सम्भावना जीवित राखे । एन्टोइन ग्रिजम्यानको प्रहार अकासिँदा सोसिडाडले खेलमा फर्कने अवसर पाएको थियो ।

सोसिडाडका लागि अदनान जानुजाजले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । टाइब्रेकरको १०औं प्रहारमा बार्सिलोनाका रिकी पुजले गोल गर्दै टाइब्रेकरमा ३–२ को जित पक्का गरे । बार्सिलोनाले फाइनलमा एथ्लेटिक बिल्बाओ वा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्