मतदाता नामावली अद्यावधिक गरिँदै



नेपाल समाचारपत्र, काठमाडौं ।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न तयारी अघि बढाएको छ । आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनको पहिलो तयारीका रुपमा मतदाता नामावली अद्यावधिक कार्यक्रम रहेको छ । यसलगतै अरु कार्यक्रम क्रमशः अघि बढ्ने आयोगले जनाएको छ ।

मतदाता नामावली (दाबी विरोधसहित) कार्यक्रमका लागि तालिम सम्पन्न गरेकोे आयोगले जनाएको छ । अनलाइन प्रविधिमार्फत दुई चरणमा तालिम सञ्चालन गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । तालिम लिएका कम्प्युटर अपरेटरहरुले मतदान केन्द्र पुनरवलोकन कार्यक्रम, २०७७ कार्यान्वयन पनि सञ्चालन गर्नेछन् । आयोगका अनुसार देशभरका ७ सय ५३ वटै स्थानीय तहका वडाहरुमा सो कार्यक्रम सञ्चालन गरिनेछ ।

मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरवलोकनसम्बन्धी कार्य निर्वाचनको पूर्वसर्त रहेको बताउ“दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्णरुपमा सम्पादन गर्न निर्देशन दिइएको बताउनुभयो।

मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरिने व्यवस्था रहेको छ ।
आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम मात्र सञ्चालन हुने पनि प्रमुख आयुक्त थपलियाको भनाइ रहेको छ । कार्यक्रमअन्तर्गत मतदाता नामावली प्रकाशित गर्ने, कुनै मतदाताको नाम र विवरण त्रुटि भएमा सच्याउनका लागि निवदेन दिने, झुठा विवरण दिएर मतदाता नामावली सिफारिस गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नामावली हटाउने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा रद्द गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने क्रियाक्रलापहरु हुने भनिएको छ ।

आयोगले सो कार्यसँगै निर्वाचनको कार्यतालिका बनाउन तयारी गरिरहेको छ। आयुक्तहरुको कार्यदल बनाएर निर्वाचनमा लाग्ने अनुमानित खर्चको आकलन, आवश्यक सामग्री जुटाउने, आचारसंहिता बनाउनेलगायत कार्यक्रमको प्रारुप बनाउने काम भइरहेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्