अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोश्रो महाभियोग



वासिङ्टन, (एजेन्सी)

अमेरिकाको प्रतिनिधिसभाले गतसाता क्यापिटल भवनमा भएको दंगा उक्साएको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको छ । ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा हाउसमा भएको मतदानमा पक्षमा विधायकहरूको २ सय ३२ र विपक्षमा १ सय ९७ मत खसेको हो । १० जना रिपब्लिकन विधायक समेतले यस कार्यमा डेमोक्रेटलाई सघाएका थिए ।

तर, आगामी साता नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोय बाइडेनले शपथग्रहण नगरेसम्म यस मुद्दाले सिनेटमा स्थान नपाउने भएको छ । अमेरिकाको इतिहासमै आफ्नो कार्यकालमा दोश्रोपटक महाभियोग सामना गर्नुपरेका ट्रम्प पहिलो राष्ट्रपति बनेका छन् ।

डेमोक्रेटको नियन्त्रणमा रहेको हाउसले बुधबार दुई घन्टा लामो गहन बहसपछि सो मतदान आरम्भ गरेको थियो । त्यतिबेला सशस्त्र नेसनल गार्ड फौजले क्यापिटल भवनभित्र र बाहिर कडा पहरा दिएको थियो ।

अमेरिकाको संघीय जाँचबुझ ब्युरो ( एफबीआई ) ले २० जनवरीमा बाइडेनले शपथग्रहण गर्नुअघि वासिङ्टन डिसीलगायत अमेरिकाका पचासवटै स्टेट क्यापिटलमा सम्भावित सशस्त्र विरोध प्रदर्शनको चेतावनी दिइसकेको छ ।कंग्रेसमा मतदान सम्पन्न भएपछि सार्वजनिक भएको एक भिडियोमा ट्रम्पले आफ्ना समर्थकहरूलाई महाभियोगबारे एक शब्द पनि उच्चारणै नगरी शान्त रहन आग्रह गरेका छन् ।

सो भिडियोमा ट्रम्पले निकै शान्त, संयमित र गम्भीर स्वरमा भनेका छन्, ‘हाम्रो मुलुकमा हिंसा र दंगाबाजीलाई कुनै स्थान छैन । मेरा कुनै पनि वास्तविक समर्थकले कहिले पनि राजनीतिक हिंसालाई समर्थन गर्दैनन् ।’‘यो महाभियोग आपराधिक नभई राजनीतिक हो ।’ राष्ट्रपति ट्रम्पलाई ६ जनवरीमा ह्वाइट हाउसबाहिर एकत्रित -यालीलाई सम्बोधन गर्ने क्रममा क्यापिटलभित्र छिर्न भिडलाई उक्साएको आरोप कंग्रेसले लगाएको हो ।

यसैबीच, टिव्टर कम्पनीका मालिक ज्याक डर्सीले ट्रम्पको टिव्टर एकाउन्टमाथि प्रतिबन्ध लगाउन गरिएको निर्णय सही भएको प्रतिक्रिया दिएका छन् । यस कार्यका लागि ट्विटरको सबैतिरबाट आलोचना तथा समर्थन दुवै भएका छन् । ट्रम्पको गठबन्धनभित्र नरहेका जर्मन नेता एन्जेला मर्केल र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेज ओब्राडोर लगायतले सो प्रतिबन्धको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्