बालुवाटारमा गरियो योग : भारत प्रस्तावक नेपाल समर्थक रहेको स्मरण



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृण्णगोपाल श्रेष्ठको संयोजकत्वको राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा भएको योग दिवसलाई सम्बोधन गर्दै प्रम ओलीले नेपालमा करिब १५ हजार वर्षअघि योग शुरु भएको बताउनुभयो ।

आदि योगको भूमिका रुपमा रहेको नेपाललाई योगमय बनाउन योग गुरुहरुको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्रीको धारणा थियो। उहाँले भन्नुभयो– ‘मानव, जीव, अन्यजीव र प्रकृतिसँंग जोडिएको शब्द योग हो, हरेक नेपालीले स्वस्थ रहन हरेक दिन योग गर्न आवश्यक छ ।’

हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै उहाँले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघबाट पारित गराएको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गर्नुभएको थियो ।

‘सूर्य दक्षिणायनमा पुग्ने समयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनु हाम्रो गौरवको विषय हो, विश्वभर योग दिवन मनाउनुपर्छ भन्ने प्रस्ताव नेपाल र भारत दुवै देशको हो।’ –प्रम ओलीले भन्नुभयो । उहाँले अब नेपालले ध्यान दिवस बनाउने विषयमा छलफल शुरु गर्नुपर्ने बताउनुभयो । प्रम ओलीले करिब १० मिनेट योग अभ्यास गरेपछि करिब १ घण्टा बोल्नुभएको थियो ।

सरकारले यो वर्ष ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्य तय गरेको थियो ।दिवसमा मन्त्रीहरु, चारै सुरक्षा निकायका प्रमुख, विघटित प्रनिनिधिसभाका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।

योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताउनुभयो । उहाँले अब योग दिवस मात्र नभई ध्यान दिवस मनाउने विषयमा सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने विषयमा सरकारले जोडदार पहल गर्नुपर्छ ।’ अधिकांश योग गुरुले बुद्धजयन्तीको दिनलाई ध्यान दिवस मनाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । यो छैठौं योग दिवस हो । सरकारले यस दिवसलाई सप्ताहव्यापी मनाउने भएको छ । कार्यक्रममा योग गुरु यतिराज भट्टराईलाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्