एउटै गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण गरेको पाइएको छ । गाउँपालिकाले गठन गरेको अनुगमन समितिले मालढुंगा – सडक र कालीगण्डकी किनार लगायतका क्षेत्रमा बहुमुल्य सार्वजनिक जमिन अतिक्रमण गरि ब्यक्तिले प्रयोग गर्दै आएको पाइएको हो ।

गाउँपालिकाले एक समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो । समितिले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको हो । मालढुंगा– बेनी सडक खण्ड वरिपरिका बजार क्षेत्रमा बढी मात्रामा जग्गा कब्जा गरेको पाइएको गाउँपालिकाका सामाजिक विकास अधिकृत लीलाधर सुबेदीले जानकारी दिनुभयो ।

गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरिएको सर्वसाधारणहरुको गुनासो थियो । ‘सार्वजनिक जमिन अतिक्रमण गरेको लगत तयार गरेका छौ।’ सामाजिक बिकास अधिकृत सुबेदीले भन्नुभयो ‘अतिक्रमित जमिन फिर्ता गर्नका लागि गाउँपालिकालाई सिफारिस गरेका छौ।’

जलजला गाउँपालिकाको २, ३, ४, ७ र ८ नम्बर वडामा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै आएका छन । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।

‘कतिपय जग्गामा आरसीसी भवनसमेत बनाइएको छ।’ उहाँले भन्नुभयो भने, ‘कसरी हुन्छ त्यसलाई फिर्ता ल्याउने छौ।’ धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको उहाँको भनाई छ । मालढुंगा–बेनी सडकछेउ, मिलनचोक, वारीबेनीलगायत स्थानका जग्गामा व्यक्तिले भवन बनाएका छन् ।

यस्ता जग्गा केन्द्र सरकारसँगको समन्वयमा फिर्ता ल्याउने र भाडामा लगाउने, सार्वजनिक आम्दानी लिने गरी उपयोग गर्ने र विपन्नलाई आयआर्जनका लागि उपलब्ध गराउने गाउँपालिकाले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार पहिलो चरणमा भेटिएको जग्गा व्यवस्थापनपछि दोस्रो चरणमा अरु वडाको जग्गा पनि खोजी गरिनेछ ।

‘यो क्षेत्रको बढी मूल्यवान भएकाले पहिलो चरणमा खोजेका हौं’ उहाँले भन्नुभयो , ‘यसको व्यवस्थापनपछि अरु वडातिर लाग्छौं ।’ धेरैजसो सार्वजनिक जग्गा बेवारिसे अवस्थामा भएकाले त्यसको खोजी गरी छिट्टै व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

गाउँपालिकाले आन्तरिक आम्दानी बढाउन सार्वजनिक जग्गामा नगदे बाली लगाउने, उद्योगधन्दा खोल्नेलगायत काममा समेत उपयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कर्मचारी व्यवस्थापन गरिसकेको छ । सार्वजनिक जग्गा भाडामा लिएर खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँसभाको निर्णय अनुसार गाउँपालिकाले बनौँ, शालिजा र लेखफाँटमा आलु खेती, माझफाँटमा धान, कोदो र गहुँ उत्पदन, बाँसखर्कमा सुन्तला र अन्य क्षेत्रमा मौसम अनुसार बाली लगाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्