ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक : मन्त्री अर्याल



स्याङ्जा । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले वैधानिकता पाउने दाबी गर्नुभएको छ ।

बुधबार नेकपा अर्जुनचौपारी गाउँ कमिटी र भीरकोट नगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।पार्टी दुई समूहमा विभाजन भएर छुट्टाछुट्टै भेला, प्रशिक्षण तथा बैठकहरु आयोजना गर्दै आएपछि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले आधिकारिता पाउँछ कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आधिकारिता पाउँछ भन्ने चर्चा चलिरहेको सन्दर्भमा मन्त्री अर्यालले पार्टी अध्यक्ष र महासचिवले नेतृत्व गरेको पार्टीले नै आधिरिकता पाउने दाबी गर्नुभयो ।
‘संस्थापन कुन पार्टी हुन्छ ।

सूर्य चिह्न कुन पार्टीले पाउँछ, त्यतै लाग्ने हो भन्ने चर्चा पनि सुन्ने गरिएको छ । मुख्य पार्टीको मान्यता कसले पाउने वा सूर्य चिह्न कसले पाउँछ भन्ने कुरा छलफल गर्नुपर्छ जस्तो नै लाग्दैन’, नेकपा केन्द्रीय सदस्य तथा नेकपा स्याङ्जाको इञ्चार्जसमेत रहनुभएको मन्त्री अर्यालले भन्नुभयो– –गाउँघरको सोझो हिसाबले हेर्नुस् त । यो कम्युनिस्ट पार्टीको एक नम्बरको पार्टी अध्यक्ष ओली हो । यो पार्टी महासचिव विष्णु पौडेल हो । त्यसकारण जुन पार्टीमा अध्यक्ष र महासचिव छ त्यही पार्टीले मान्यता पाउँछ ।

पार्टीका २-४ जना नेताहरु चोइटिएर छुट्टै पार्टी बनाउन खोजेको भन्दै उहाँले प्रचण्ड–नेपालले पार्टीलाई विभाजित गर्ने जमर्को गरेको बताउनुभयो । तर अहिलेसम्म कानुनी मान्यता नपाएको भन्दै त्यस कार्यको निर्णय निर्वाचन आयोगलाई नै छाड्नुपर्ने बताउनुभयो । ओली महाधिवेशनबाट चुनिएर आएको अध्यक्ष भएको भन्दै उहाँले अहिले पनि ओली नै १ नम्बरको अध्यक्ष भएको बताउनुभयो ।

पार्टी एकता गर्दा दुईवटा आन्दोलनलाई जोड्नका निम्ति प्रचण्डलाई २ नम्बर पार्टीको अध्यक्ष बनाएर अगाडि बढेको स्मरण गर्दै उहाँले प्रचण्डले पार्टी प्यालेसमा भेला गरेर माधवकुमार नेपाललाई अर्को अध्यक्ष चुनेको बताउनुभयो ।‘२ नम्बरको अध्यक्षले पार्टी प्यालेसमा बसेर भेला गरेर माधव नेपाललाई अध्यक्ष बनाएर यो दर्ता गरिदेऊ भनेर निर्वाचन आयोगमा जानुभयो’, नेता अर्यालले भन्नुभयो– –हामी फुटेको होइन । हामी जहाँ हो त्यही छौं, केपी ओलीको नेतृत्वमै छौं । यो कुरा कार्यकर्ता, सबैले बुझ्नुभएको छ ।

जनताको समाजवादमा पुग्ने चाहनालाई पूरा गर्नका निम्ति दुई पार्टीलाई एकता गरेर अगाडि बढेको भए पनि नेतृत्व फरकरुपमा प्रस्तुत हुँदा अहिलेको अवस्था आएको बताउनुभयो । तर पनि खोल्सिएको घाउलाई मल्हमपट्टि गर्दै झनै रफ्तारका साथ पार्टी निर्माण अभियानमा अगाडि बढ्दै मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने बताउनुभयो ।
त्यस अवसरमा भीरकोटमा १५ जना युवाहरु तरुण दल परित्याग गरी नेकपामा प्रवेश गरेका थिए भने, अर्जुनचौपारीमा नेपाली कांग्रेस परित्याग गरी ६ जना नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्