धुलिखेलका प्राचीन शहरलाई पुनर्जीवन



मोतीराम तिमल्सिना, काभ्रे । नेपालका प्राचीन शहरलाई पुनर्जीवन प्रदान गरिने भएको छ । भूकम्पले क्षति गरेका शहरहरु मात्रै नभई विभिन्न कारणले क्षयीकरण भएका प्राचीन शहरहरुको गुरुयोजना निर्माण गरी पुनर्जीवन दिने विषयमा सरोकारवालाले निष्कर्ष निकालेका छन् ।

धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा नेपाल नगरपालिका संघ, पुनर्निर्माण प्राधिकरण र नगर विकास कोषको सहकार्यमा धुलिखेलको पुरानो बस्तीहरुलाई पुरानै मौलिक शैलीमा पुनर्निर्माण गर्न तथा पुराना सम्पदाको संरक्षण र संवद्र्धन गर्न सबै पक्षको उत्तिकै सहभागिता रहेको निष्कर्ष निकालिएको छ ।नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नेपालका प्राचीन शहरहरु भूकम्प तथा अन्य विपत्ति र विविध कारणबाट नष्ट हुँदै गएकाले त्यस्ता शहरहरुको गुरुयोजना निर्माण गरी पुनर्जीवन दिनुपर्ने बताउनुभयो ।

नेपालका सबै प्राचीन शहरहरुको पुनर्निर्माण गर्न राष्ट्रिय विपद् व्यवस्थापन केन्द्र, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगर विकास कोष, नेपाल नगरपालिका संघ, संरक्षण नेपाल र सरोकारवाला निकायहरु सक्रिय हुने बताइएको छ ।कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ग्रामीण भेगमा भन्दा शहरी भेगमा पुनर्निर्माणको कार्य कठिन भएको बताउनुभयो । प्राचीन शहरहरुमा गरिने पुनर्निर्माण पुरानै शैलीमा गर्नुपर्ने भएकाले दक्ष जनशक्तिको अभाव, बजेट तथा स्थानीयहरुको कम चासो भएकाले सहज हुन कठिन हुने बताउनुभयो ।

स्थानीय सरकारहरुले चासो दिँदा पुनर्निर्माणले गति लिने भएकाले साझेदारीमा गर्ने गरी गुरुयोजना निर्माण, डिजाइन तथा इस्टमेट र नक्सा पासमा सहुलियत आवश्यक रहेको बताउनुभयो। स्थानीयहरुको चासो र सक्रियता हुँदा मात्रै पुनर्निर्माण सम्भव हुने ज्ञवालीले बताउनुभयो ।कार्यक्रममा नगर विकास कोषका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले नगर क्षेत्रभित्रको शहरहरुको निर्माण र पुनर्निर्माणमा स्थानीय सरकारहरुसँग समन्वय गर्न तयार रहेको बताउनुभयो । नेपाल नगरपालिका संघका कार्यकारी अधिकृत कलानिधि देवकोटाले सबै निकायसँग समन्वय गरी शहर निर्माण र प्राचीन शहरको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा, वडाध्यक्ष रोमी ब्याञ्जु, रोटरी अध्यक्ष सुशील ब्याञ्जु, समाजसेवी दीर्घसिं बरुण, पूर्व वडाध्यक्ष पूर्णबहादुर कर्माचार्यलगायतले पुराना बस्तीको संरक्षण र पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । धुलिखेल बजार, श्रीखण्डपुर र शंखुको इँट्टे बजारको पुनर्निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्