संसद् विघटन विरुद्ध ओलीप्रति प्रचण्ड-नेपालको आक्रोश



 काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ । संसद् विघटन गरेर प्रधानमन्त्री ओली तानाशाह बन्ने बाटोमा अगाडि बढेको बताउँदै आन्दोलनबाटै असंवैधानिक कदम सच्याउने बताएको हो ।

प्रचण्ड–नेपाल समूहले नागरिक समाज प्रतिपक्ष दललगायतले आफूहरुलाई साथ दिएको बताउँदै आन्दोलनलाई थप सशक्तरुपमा अगाडि बढाउने घोषणा गरेको छ ।नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली तानशाह बन्न खोज्दा एक्लिँदै गएको बताउनुभएको छ । काठमाडौं जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई झुटको पुलिन्दा भएको संज्ञा दिनुभयो ।पार्टीलाई विधि र पद्धतिअनुसार अगाडि बढाउन धेरै प्रयास गरे पनि ओलीले सधैं छलछाम तिकडम र झुटको मात्र खेती गरेको आरोप लगाउँदै उहाँले संसद् विघटन गरेर अहिले लोकतन्त्रमाथि नै निर्मम ढंगले प्रहार गरेको बताउनुभयो ।

आफूहरुले पद प्राप्तिका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लागिपरेको बताउँदै अध्यक्ष नेपालले ओलीको गुट गलत बाटोमा रहेको बताउनुभयो । ‘हामी सही बाटोमा छौं । ओली गुटले फैलाएको भ्रम चिर्न आवश्यक छ। ओली झुटको पुलिन्दा हुनुहुन्छ।’ –नेपालले भन्नुभयो । ओलीले ४ सय केन्द्रीय सदस्यलाई ५ सयको बताउँदै अहिले ११ हुँदै २५ सयको बनाइँदै गरेको सुनेको बताउँदै अध्यक्ष नेपालले भन्नुभयो– ‘ओलीकोे सडक छाप पार्टीमा कोको जानुहुन्छ । त्यो परित्याग गर्नेक्रम जारी छ ।

त्यो सडक छाप पार्टीमा कति बस्नुहुन्छ ।उहाँले उपाध्यक्ष वामदेव गौतम बालुवा पेलेर तेल निस्कन्छ भनेर लागेकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यो सम्भव नभएको बताउनुभयो । ओली कम्युनिस्ट नभएको आरोप लगाउँदै उहाँले असंवैधानिक कदम सच्याउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।त्यसै गरी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले संविधान नै भाँचिदिएको बताउनुभयो । पहिले उहाँ कुर्सी भाँच्छु भन्नुहुथ्यो । कुर्सी भाच्नुभयो भनेर फेरि बनाउँला भन्ने थियो ।

तर उहाँले त संविधान र राष्ट्रै भाँचिदिनुभयो।’ –उहाँले भन्नुभयो ।यस्तै उहाँले भारतबाट जी न्युजलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिएर नाटक मञ्चन गरेको आरोप लगाउँदै भन्नुभयो– ‘जी न्युजलाई बोलाएर अन्तर्वार्ता दिनु ओलीको नाटक हो । एभरेस्टको नाम फेर्ने जी न्युजको समाचारले ओलीको अन्तर्वाता नाटक हो भन्ने पुष्टि भएको छ । उहाँलाई विदेशी शक्ति आएर केके मन्त्र सुनाए, त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हे¥यौं, त्यो नाटकै हो । त्यसको पटाक्षेप नै भइसक्यो ।’ कमिलाको प्वाँख उम्रिएजस्तै ओलीमा पनि प्वाँख पलाएको बताउँदै संविधान र गणतन्त्र मास्न खोज्ने ओलीमा आफ्नो गल्तीको अलिकति पनि स्वीकारोक्ति नहुनु बिडम्बना युक्त भएको उहाँले बताउनुभयो ।

प्रचण्डले ओलीको राष्ट्रवाद भारतीय गुप्तचरका प्रमुखसँग राती–राती भेट गरेबाटै प्रस्ट भएको बताउँदै भन्नुभयो– ‘संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौं । हाम्रै अगाडि यत्रो प्रहार भएको छ ।’ ओलीमाथि कटाक्ष गर्दै प्रचण्डले उखान टुक्काले हँसाएर कमेडी सो देखाउन आफूहरु नजुटेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्